नेप्सेले सेयर धनीलाई १६६.६७ प्रतिशत लाभांश दिने

नेप्सेले सेयर धनीलाई १६६.६७ प्रतिशत लाभांश दिने

काठमाडौँ : नेपाल राष्ट्र बैङ्क सञ्चालक रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर धनीलाई १६६.६७ प्रतिशत लाभांश दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ। नेप्सेले सेयर धनीलाई शतप्रतिशत नगद लाभांश र ६६.६७ प्रतिशत बोनस सेयर दिन लागेको हो।

बैङ्कले आफ्नो नियम दायरामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूलाई कुल वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्रै नगद लाभांश वितरण गर्न पाउने नीतिगत व्यवस्था गरेको छ। तर राष्ट्र बैङ्क नै सञ्चालक रहेको नेप्सेले भने ६६.६७ प्रतिशत बोनस सेयर र शतप्रतिशत नगद लाभांश वितरण गर्ने छुट पाएको छ।

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर खरिद गर्न प्रदान गरिने मार्जिन प्रकृतिको कर्जामा सीमा तोक्दै एउटा लगानीकर्ताले सेयर खरिद गर्न मार्जिन प्रकृतिको कर्जा एउटा बैङ्क वा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैङ्क वा वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेको छ।

लगानीकर्ताले राष्ट्र बैङ्कको यो व्यवस्थाको विरोध गरिरहेका छन्। ३२ सय विन्दुको नजिक पुगेको नेप्से परिसूचक २२ सयको हाराहारीमा झर्नुमा राष्ट्र बैङ्कको मार्जिन कर्जा सम्बन्धी व्यवस्थालाई मुख्य कारण मानिएको छ।

राष्ट्र बैङ्ककै अग्रसरता स्थापना भएको नेपाल क्लियरिङ हाउसले समेत ४० प्रतिशत लाभांश दिने सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ। लाभांशमध्ये २ प्रतिशत नगद र ३८ प्रतिशत बोनस सेयर छ। 

पुष ८, २०७८ बिहीबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।