शिक्षकको राजनीतिबारे बोले झलनाथ खनाल, भने जुनसुकै विचारमा लाग्ने स्वतन्त्रता दिनुपर्छ 

शिक्षकको राजनीतिबारे बोले झलनाथ खनाल, भने जुनसुकै विचारमा लाग्ने स्वतन्त्रता दिनुपर्छ 

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शिक्षकलाई जुनसुकै विचारमा लाग्न स्वतन्त्रता हुनुपर्ने बताएका छन्।

बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति अभियन्ताको लोकार्पण गर्दै नेता खनालले शिक्षकलाई जुनसुकै विचारमा लाग्न स्वतन्त्रता हुनु पर्ने बताएका हुन्। 

मङ्सिर २६ गते सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

तर, एकीकृत समाजवादीका नेता खनालले चेतनाका बाहक शिक्षकलाई आफ्नो शिक्षण क्रियाकलापमा बाधा नपुर्याई जुनसुकै विचारमा लाग्न स्वतन्त्रता हुनुपर्ने बताएका हुन्। उनले अब क्रान्तिकारी वामपन्थी दलहरूको अगुवाइमा समाजवादको दिशामा लाग्नुपर्ने बताए। 

राजनीतिकर्मी खतिवडाको कृति ‘अभियन्ता’ लोकार्पित गर्दै खनालले खतिवडा जस्ता व्यक्तित्वका कारण नेपालको वामपन्थी आन्दोलन यहाँसम्म आएको उल्लेख गरे। 

खतिवडा स्वास्थ्यमन्त्री विरोध खतिवडाका बुबा हुन्। खतिवडाको कृति घोप्ट राइटिङ नेपालले प्रकाशित गरेको हो। कृतिमा लेखक खतिवडाका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र  केही नयाँ योजनाका विषय समावेश गरिएको छ। उनले हरियाली नेपाल पार्टी पनि खोलेका थिए भने अहिले दलित मुक्ति तथा छुवाछुत विरोधी आन्दोलनमा संलग्न छन्। 

कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायालयको विकृति टुलुटुलु हेर्न नसकिने बताए। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक अध्यक्ष  लेखक खतिवडाले २०३६ साल वैशाखमा हेटौँडामा सुरु गरेको शिक्षक तथा विद्यार्थी आन्दोलनले जेठ १० गते जनमतसङ्ग्रहको घोषणा गराउन बाध्य पारिएको बताए। 

उनले मिचिएको सीमा फिर्ता ल्याउन र  दलितहरूलाई मुक्त गराउन वर्तमान सरकारलाई आग्रह गरे। 

नेपाल जनप्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले वामपन्थी आन्दोलन अगाडि बढाउन खतिवडाहरूले गरेको अग्रपङ्क्तिको आन्दोलनले मुलुकमा वामपन्थी आन्दोलन अघि बढेको बताए।

पुष ८, २०७८ बिहीबार १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।