बुटवलमा व्यापार मेला : ६ अर्ब लगानी सुनिश्चित भएको दाबी

बुटवल : बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ। देवीनगरमा सञ्चालित मेलाको नारा ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ राखिएको छ।
उद्योग व्यापार सङ्घ बुटवलले सञ्चालन गरेको मेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले विश्व बैङ्कको सूचकाङ्कले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको उल्लेख गर्दै बुटवलमा आउँदो तीन वर्षमा साढे ६ अर्ब रुपैयाँ लगानी हुने सुनिश्चित भइसकेको दाबी गरे।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले राष्ट्रिय पुँजीमार्फत औद्योगीकरण र व्यापार विविधीकरणमा सरकारको ध्यान जानुपर्ने बताए।
मेला आयोजक सङ्घका अध्यक्ष गोविन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परे पनि सरकारले राहत दिन नसकेको गुनासो गरे। स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेको मेला पुस २० गतेसम्म चल्नेछ।
मेला अवधिभर करिब ५० करोड कारोबार हुने अनुमान गरिएको सङ्घका महासचिव पदम जिसीले बताए।
मेलामा एक लाख पुरस्कार राशिको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, निःशुल्क दन्त शिविर, रक्तदान, लोक दोहोरी गायन लगायतका आकर्षण गर्ने कार्यक्रम राखिएका छन्।
पुष ८, २०७८ बिहीबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।