बाघ गणना गर्ने पाँच वटा क्यामेरा चोरी

बुधबार पत्रकार सम्मेलन गरेर निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नवलपरासीको कावासोतीमा चार वटा क्यामेरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामेरा हराएको जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ।
बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामेरा अन्य प्रयोजनका लागि काममा नआउने उनले बताए। जडान गरिएको तेस्रो दिनमा क्यामेरा हराएको भन्दै क्यामेराको सुरक्षा गर्नु सबैको दायित्व भएको आचार्यले बताए।
चितवन–पर्सा कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि करिब तीन महिना समय लाग्ने उनले जानकारी दिए। सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या २३५ वटा पुगिसकेको छ।
पुष ७, २०७८ बुधबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।