नेपाली सेनाको आवास कर्जा : २० जनाको निवेदन, ७ जनालाई सिफारिस  

नेपाली सेनाको आवास कर्जा : २० जनाको निवेदन, ७ जनालाई सिफारिस  

३ दशमलव ३२ प्रतिशत व्याजमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध गराउन सुरु गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यो सुविधा सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान् वा श्रीमतीको नाममा नेपाल भित्र आफ्नो घर नरहेका बहालवाला सैनिकले पाउनेछन्। 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म २० जनाले आवास कर्जा सुविधाका लागि निवेदन दिएका छन्। त्यसमध्ये ७ जनाको प्रक्रिया पूरा भई बैङ्कमा सिफारिस भइसकेको निर्देशनालयले जनाएको छ। 

नेपाली सेनाले कार्तिक २२ गते राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ को सहमति पत्रमा हस्ताक्षर गरेको थियो। 

आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सैनिकलाई दोस्रो पक्षले धितो मूल्याङ्कनको आधारमा घर खरिद गर्न एकमुष्ट र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोस्रो तथा अन्तिम किस्ता ३०/३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ।

कर्जा लिनका लागि काठमाडौँ उपत्यकाको हकमा सैनिक कल्याणकारी महानिर्देशनालय, जङ्गी अड्डा अन्तर्गत रहेको आवास कर्जा कार्यान्वयन इकाई र उपत्यका बाहिरको हकमा पायक पर्ने नेपाली सेनाको युनिट वा कल्याणकारी बोर्ड अन्तरगतका हिताधिकारी कल्याण केन्द्रहरूमा आवेदन दिन सक्ने निर्देशनालयले जनाएको छ। 

पुष ७, २०७८ बुधबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।