बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकार माफी पछि रिहा

दाङ : बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकारले फेसबुक र अनलाइनमा माफी मागेपछि रिहा भएका छन्।
दाङ प्रहरीले उनलाई तीन गते पक्राउ गरेको थियो। पाँच महिना कैद सजाय तोकिएका ‘राप्ती पहिचान डट कम’ अनलाइनका सञ्चालक समेत रहेका पत्रकार एग्गेबहादुर बुढा मगरलाई प्रहरीले पक्राउ गरेर सुर्खेत प्रहरी कार्यालयलाई बुझाएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए।
अदालतको फैसलापछि सुर्खेत प्रहरीले अभियुक्त बुढालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई पत्राचार गरेपछि जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले समातेर अदालत बुझाइएको एसपी काफ्ले जानकारी दिए।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले ती पत्रकारलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो।
उनले आफ्नो अनलाइनमा युवतीको पहिचान खुल्ने गरी तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए। यस्तै पीडकको तर्फबाट बहस गरेका वकिलहरूको विरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए।
बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो। निजहरूको जिरहलाई निरह पार्ने गरी सवालको जवाफ दिएको छु।’
पीडकका तर्फबाट वकालत गर्ने वकिलहरू मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्ने गरी अनलाइनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।
संवेदनशील विषयमा समाचार सामग्रीहरू प्रकाशन/प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको जिल्ला न्यायाधीश आचार्यको फैसलामा उल्लेख गरिएको थियो।
‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेले परिणामको गाम्भीर्यलाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारबाहीको विषय हुन आयो,’ फैसलामा भनिएको छ।
सजाय तोकिएका पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमा याचना गरेमा भने कैद बस्नुपर्ने जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत माफी माग्नुपर्ने उल्लेख थियो। उनले आफू सञ्चालक रहेको अनलाइन र फेसबुकमा क्षमा मागेर त्यसको प्रति अदालतमा बुझाएर रिहा भएका थिए।
राउटे समुदाय गुर्भाकोट नगरपालिका–९ स्थित आँपसोतीमा बसेका बेला युवतिमाथि बलात्कार भएको हो। जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न आएको बेला होटेलमा जबरजस्ती मदिरा सेवन गराएर यौनजन्य क्रियाकलाप गरेका थिए।
उक्त कार्य गरेको भिडियो समेत बाहिर आएको थियो। युवतिमाथि जबरजस्ती गर्ने गुर्भाकोटका चमन घर्ती, भूपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ।
पुष ६, २०७८ मंगलबार १९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।