ओलीले भने, नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्।
कपिलवस्तुको बहादुरगंजमा आयोजित आमसभामा ओलीले नेपालको पानी भारतले उपयोग गरिरहेको भन्दै नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताएका हुन्।
‘यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ, यो कदापि हुँदैन’ ओलीले भने। उनले कृषि सिचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने पनि बताए।
अध्यक्ष ओलीले ज्येष्ठ नागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको व्यवस्था गरेको भन्दै अभिभावक विहीनलाई सहारा एमालेले दिने बताए। एमालेमा प्रवेश गरेका नेता मङ्गल प्रसाद गुप्तालाई स्वागत गर्दै ओलीले एमाले प्रवेश गर्नेहरूको जनलहर बढेको दाबी गरे।
आम सभामा विभिन्न पार्टी परित्याग गरी करिब ६ हजार कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले बताए।
पुष ६, २०७८ मंगलबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।