सभामुखलाई सांसद सुवालको जवाफ : देश नै फौजदारी अभियोगमा पर्ने खतरा छ 

सभामुखलाई सांसद सुवालको जवाफ : देश नै फौजदारी अभियोगमा पर्ने खतरा छ 
तस्बिर : संसद सचिवालय

काठमाडौँ : प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। एमाले सांसदको अवरोधकाबीच मंगलबार बसेको बैठक दुई वटा अध्यादेश स्वीकृत गरेर बुधबारसम्मका लागि स्थगित भएको हो। 

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडूले प्रस्तुत गरेको यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि अध्यादेश स्वीकृत भएको छ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत गर्दै मन्त्री बडूले प्रस्तुत गरेका अध्यादेश स्वीकृत गरेको हो। 

सांसद प्रेम सुवालले एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै खारेज गर्न माग गरे। अध्यादेशको विरोधको सूचनामा बोल्न समय पाएका सांसद सुवालले एमसीसी सम्झौता खारेज गर्नु माग गरेर सके। 

सभामुख अग्नि सापकोटाले फौजदारी कार्यविधिको विषयमा आउन गरेको आग्रहमा सांसद सुवालले देश नै फौजदारी अभियोगमा पर्ने खतरा रहेको बताए। उनले अध्यादेशबारे भने कुनै टिप्पणी गरेनन्। 

उनले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका भारतका लागि प्रस्तावित राजदूत शङ्कर शर्मा नियुक्त गर्न नहुने माग गरे। पद अनुसार आचरण नगर्ने प्रस्तावित राजदूत शर्मालाई नियुक्ति गर्ने सिफारिस फिर्ता लिनु पर्ने सांसद सुवालको भनाई थियो। 

उनले एमसीसीको समर्थन गरेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छली गरेको विषयमा छानबिन हुनु पर्ने बताए।

उनले प्रमुख प्रतिपक्षी दलको विरोध भइरहँदा कार्यसूची अगाडी बढाउन नहुने बताए। बिरोधकैबीच एमसीसी सम्झौता संसद्मा टेबुल गरेर पारित गर्ने त होइन भन्दै उनले प्रश्न समेत गरेका थिए। 

पुष ६, २०७८ मंगलबार १४:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।