एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ मा हुने

एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ मा हुने

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन आगामी माघ ८ गते बाँकेको नेपालगन्जमा हुने भएको छ।

नेकपा एमाले लुम्बिनी प्रदेश संगठनको छैठौं पूर्ण बैठकले प्रदेश अधिवेशन नेपालगञ्जमा गर्ने निर्णय गरेको हो। अधिवेशन सम्पन्न गर्नका लागि प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मुल व्यवस्थापन समिति समेत गठन गरिएको छ। 

बैठकले प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउँदै २ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, दलितका लागि १ सय पार्टी सदस्य बराबर १ जना प्रतिनिधि, हरेक ३ जना प्रतिनिधिमा १ जना महिला अनिवार्य, विभिन्न जनवर्गीय संगठन, प्रदेश सल्लाहकार, अपांगता भएकाहरु, जिफन्ट लगायतबाट पनि प्रतिनिधि हुनेगरी मापदण्ड तयार पारिएको छ।

प्रदेश अधिवेशनका लागि लुम्बिनीका १२ वटै जिल्लाले यही पुस २८ गते एकै दिन मापदण्डअनुसार प्रतिनिधि चयन गर्नुपर्नेछ ।

साथै बैठकले यही पुस २३ गते देशभर एकैसाथ सम्पन्न हुन गइरहेका जिल्ला अधिवेशनहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पुस ७ गते बर्दिया, पुस ८ गते गुल्मी, अर्घाखाँची, प्युठान र रोल्पा, पुस ९ गते रुपन्देही, पाल्पा, बाँके र पुस १० गते नवलपरासी, कपिलवस्तु र रुकुमपूर्वमा बैठकको आयोजना गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ।

जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड भने जिल्ला कमिटी आफैंले तय गर्ने एमालेले जनाएको छ। 

पुष ६, २०७८ मंगलबार १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।