संसदको अवरोध हटाउन जुटे प्रधानमन्त्री, एमालेसँग वार्ता गर्ने तयारी

काठमाडौं : सरकारले संसदमा पेस भएका अध्यादेश पारित गराउन सभामुखसमक्ष आग्रह गरेको छ।
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र बडुले सभामुख अग्नि सापकोटालाई मंसिर २६ गते संसदमा पेस भएका ६ वटा अध्यादेश पारित गराउन आग्रह गरेका हुन्।
सभामुख सापकोटासँगको छलफलमा महत्वपूर्ण कानुन निर्माण गर्ने काम रोक्न नहुने बताएको मन्त्री बडुले जानकारी दिए।
प्रमुख प्रतिपक्षी दल एमालेलाई संसदको अवरोध हटाउने पहल गर्न संसद बैठक बस्नु अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक राख्ने सभामुखले बताएका थिए।
छलफल अनुसार नै सभामुखले बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
संसदको अवरोध हटाउन एमालेसँग सरकारले पनि वार्ता र संवाद अगाडि बढाइरहेको कानुन मन्त्री बडुले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवाले नै संसदको अवरोध हटाउन एमालेसँग छलफलको तयारी गरेको मन्त्री बडुले भनाइ छ।
उनले तत्कालै एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा टेबुल गर्ने तयारी भने नभएको बताए।
एमालेले भने पार्टीले कारबाही गरेका १४ जना सांसदलाई निलम्बन या सभामुख सापकोटाले राजीनामा नदिएसम्म संसदमा अवरोध कायम रहने अडान राख्दै आएको छ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आजको कार्य व्यवस्था समितिको बैठकमा पनि यही कुरा राखेर फर्किने उकेरालाई बताए।
प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकमा दुई वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने छन्।
सम्भावित कार्यसूची अनुसार सांसद प्रेम सुवालले दुवै अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने छन्।
पुष ६, २०७८ मंगलबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।