चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला पुस ८ देखि

चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला पुस ८ देखि

बुटवल : ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने मुल नाराका साथ पुस ८ गतेदेखि बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ।

उद्योग व्यापार संघ बुटवलको आयोजनामा हुन लागेको मेला ८ देखि पुस २० गतेसम्म चल्नेछ। हालसम्म मेलाको ८० प्रतिशत काम सम्पन्न भएको संघका अध्यक्ष गोविन्दराज गैरेले जानकारी दिए।

स्वदेशी र विदेशी गरी ४ सय ५० स्टल रहने मेलामा हालसम्म ३ सय ५० स्टल दर्ता भइसकेका छन्। स्थानीय वस्तु, कला तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजकको दावी छ। मेलामा ५० करोडको कारोबारको लक्ष्य रहेको अध्यक्ष गैरेले बताए ।

मेलामा एक लाख पुरस्कार राशिको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय  कलाकारको प्रस्तुति, फेसन शो, निःशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन्। 

मेलामा १५ वटा फरकफरक सेल्फी जोन, संख–घण्टसहितका पुजारी रहने गरी ११ थरी देवी देवताका मूर्ति पनि रहने आयोजकले जनाएका छन्।

पुष ६, २०७८ मंगलबार ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।