सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक, एमालेको संसद् अवरोध कायमै

काठमाडौं : सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् बैठक बस्नु अगाडि सभामुख सापकोटाले आज बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो कुरा राखेर फर्कने बताएको छ। आफ्ना कुरा राखेर फर्किने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए।
पार्टीले निलम्बनको सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै भदौ २३ गतेदेखि एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने सभामुखले बोलाएको बैठकमा जाने/नजाने टुङ्गो नभएको बताए। ‘हामी कार्य व्यवस्था परामर्श समितिको बैठकमा जाँदैनौं होला,’ भट्टराईले भने, ‘संसद् बैठकको अवरोध जारी रहन्छ।’
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने बैठकमा दुई वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रतिनिधि सभाको सम्भावित कार्यसूची अनुसार सांसद प्रेम सुवालले दुवै अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।
पुष ६, २०७८ मंगलबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।