नागरिकता प्राप्त व्यक्तिको मात्रै मतदाता नामावली सङ्कलन : निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता नामावली सङ्कलन भइरहेको जनाएको छ।
नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन भइरहँदा मतदाता नामावली दर्ता, व्यवस्थापन, समावेशीजस्ता विषयका सम्बन्धमा उठाइएका प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले नागरिकता प्राप्त व्यक्तिको मतदाता नामावली सङ्कलन भइरहेको प्रस्ट पारेको हो।
आयोगले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र अन्य जिल्लाका स्थानीय तहमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भई दोस्रो चरणको कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।
आयोगले आफ्नो स्थानीय तहमा कार्यक्रम समाप्त भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमध्ये पायक पर्ने कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने स्पष्ट पारेको छ।
आयोगले मतदाता नामावलीमा नाम छुट भएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती एवं सुत्केरीलाई प्राथमिकता दिने, दर्ता स्थलमा खानेपानी, शौचालय तथा सम्भव भएसम्म स्तनपान कक्षका साथै दर्ता स्थल लैङ्गिक तथा अपाङ्गतामैत्री हुने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेको छ।
पुष ५, २०७८ सोमबार २२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।