प्रधानमन्त्री रोजगार कार्यक्रमको दैनिक ज्याला १ हजार रुपैयाँ

अर्थ मन्त्रालयमा सोमबार आयोजित पुँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल मन्त्री शर्माले अहिले दैनिक ५१७ रुपैयाँ रहेको ज्याला बढाएर एक हजार रुपैयाँ पुर्याउने गरी कार्यविधि बनाउन श्रम मन्त्रालयलाई आग्रह गरे।
मन्त्री शर्माले पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहेको ठाउँमा पठाइदिने तयारी भइरहेको जानकारी पनि दिए। ‘जसले खर्च गर्न सक्छ उसैलाई बजेट थपिन्छ’,मन्त्री शर्माले भने,‘खर्च गर्न नसक्ने मन्त्रालयको बजेट कटौती हुन्छ, रकमान्तर गरेर पठाइन्छ।’
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले करको दायरामा आएका होटेल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने सुझाव दिए। उनले व्यवसाय फस्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने भन्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको बताए।
कृषिमन्त्री महिन्द्र राय यादवले सरकारले धानको समर्थन मूल्य तोकेर मात्र नहुने भन्दै कृषकबाट धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने बताए। ठेक्का प्रक्रियाबाट समयमा रासायनिक मल उपलब्ध गराउन नसकिने भन्दै उनले तत्काल जीटुजी प्रक्रियाबाट खरिद गर्न सुझाव दिए।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कुल दरबन्दीको ४० प्रतिशत कर्मचारी खाली रहेको र प्राविधिक क्षेत्रका थप ५० प्रतिशत कर्मचारी भर्ती गर्नुपर्ने अवस्था रहेको जानकारी दिए। उनले कर्मचारीको अभावमा पनि पुँजीगत खर्च प्रभावित भएको उल्लेख गरे।
वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले पुँजीगत खर्च वृद्धिको लागि वनसँग सम्बन्धित समस्याहरू समाधान गर्ने गरी नियमावली परिवर्तन गर्न लागिएको जानकारी दिए।
पुष ५, २०७८ सोमबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।