चिलिमा ३५ वर्षका बोरिक राष्ट्रपति बन्दै

एजेन्सी : दक्षिण अमेरिकी देश चिलीमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने भएका छन्। उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेर ३५ वर्षकै उमेरमा राष्ट्रपति पक्का गरेका हुन्।
आइतबार भएको राष्ट्रपतीको चुनावमा बोरिकले ५६ प्रतिशत मत पाए भने कास्तले ४४ प्रतिशत मत पाएका छन्। कास्टले मतदान सम्पन्न भएको डेढ घण्टामै हार मानेका थिए। उनले हार स्वीकार गर्दा आधा मतपेटिका खोल्नै बाँकी थियो। गणना भएका मतअनुसार भने बोरिकले ५६ र कास्टले ४४ प्रतिशत मत ल्याएका थिए।
उम्मेदवारहरू दुवैले फरक फरक भिजनसहित चुनावी मैदानमा आफूलाई प्रस्तुत गरेका थिए। यी दुवै उम्मेदवार हालसम्म पनि सरकारमा सहभागी नभएको दलको तर्फबाट थिए।
राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचार विरोधी प्रदर्शनमा समर्थन गरेका थिए।
चिलीमा सरकार विरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। बोरिक राष्ट्रपति नियुक्त भए लगत्तै सबैभन्दा कान्छो उमेरको राष्ट्रपतिको रेकर्ड बनाउने छन्।
पुष ५, २०७८ सोमबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।