एमसिसीबारे सहमति जुटाउन बसेको सर्वदलीय बैठक असफल

एमसिसीबारे सहमति जुटाउन बसेको सर्वदलीय बैठक असफल

काठमाडौँ : अमेरिकी सहयोग एमसिसी र संसद्मा जारी गतिरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक असफल भएको छ। संसद् अवरोधको मुख्य कारक र प्रमुख प्रतिपक्षी दल एमालेका नेता बैठकमा नआएपछि सर्वदलीय बैठक कुनै निष्कर्षमा पुग्न सकेन।

सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा उभिएको छ भने सत्ताधारी दल माओवादी केन्द्र संशोधन गरेर मात्र पारित गर्नुपर्ने धारणा राखेकाले एमसिसीकोबारेमा सहमति जुट्न सकेन।

सर्वदलीय बैठक अगाडि प्रधानमन्त्री देउवाले सत्ताधारी दलका नेताहरूसँग छलफल गरेका थिए। बैठकमा माधव नेपाल नआई बेदुराम भुसाल सहभागी भएका थिए।

रामचन्द्र पौडेल र रामशरण महतले एमसिसीको पक्षमा बोलेका थिए। एकीकृत समाजवादीकातर्फबाट सहभागी भुसालले अहिलेकै अवस्थामा पास हुन नसक्ने बताएका थिए।

बैठकमा सहभागी समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइले मेरै पालामा एमसिसी सुरु भएको भन्दै पास गर्नुपर्ने धारणा राखेको नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले जानकारी गराए।

' कांग्रेस र समाजवादी दल पक्षमा देखियो। माओवादी र एकीकृत समाजवादी संशोधनको पक्षमा देखिए। जनमोर्चा, नेमकिपा र राप्रपा विपक्षमा उभियौँ' उनले भने।

बैठक सकिएपछि सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दलहरूसँग छलफल गरेर छिट्टै सहमतिमा पुग्ने बताएका थिए।

पुष ४, २०७८ आइतबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।