अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता पारिएका चन्द्रे कामीको खोजी तीव्र पार्न आग्रह

काठमाडौंः जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता पारिएका चन्द्रे कामीको खोजी तीव्र पार्न आग्रह गरेको छ। हुम्लाको सर्केगार्ड-१ नात्ताका चन्द्रे कामीलाई मङ्सिर २९ गते राति कुटपिट गरी बेपत्ता पारिएको थियो।
मोर्चाले एक विज्ञप्ति जारी गर्दै खोजी कार्य तीव्र पार्न आग्रह गरेको हो। विज्ञप्तिका अनुसार मुगुको सोरू गाउँपालिका-१ लिपुकी मल्ल थरकी प्रेमिकासँग झण्डै २ महिनाअघि कामीले भागेर विवाह गरेका थिए। विवाहपछि माइतीपक्षले बारम्बार धम्की दिएका कारण उनीहरू लुकेर बसेका थिए। तर मङ्सिर २९ गते राति १ बजे भने करिब २० जनाको समूहमा माइतीपक्षबाट आएका युवाहरूले कामीलाई कुटपिट गरी ती युवतीलाई समेत लिएर गएका थिए। त्यसक्रममा छिमेकका अन्य घरमा ताल्चा लगाइदिएर उनीहरूलाई निस्कन दिइएको थिएन।
हाल ती युवती माइतीपक्षसँगै भए पनि कामीको अवस्थाबारे भने जानकारी छैन। विज्ञप्तिमा प्रहरीलाई उद्धृत गर्दै भनिएको छ- 'कुटपिट गर्ने युवाहरू फरार छन्।'
मोर्चाले यसलाई 'रुकुम घटना जस्तै अप्रिय अवस्थाको संकेत गरिरहेको' जनाएको छ। प्रहरी प्रशासन, राजनीतिक दल, मानवअधिकारवादी संघ संस्थालगायतलाई घटनाको छानबिन गर्न मोर्चाले आग्रह गरेको छ।
पुष ४, २०७८ आइतबार ११:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।