अन्नबालीसँग सम्बन्धित पर्व: नेवार समुदाय योमरी र किराँत समुदाय उधौली मनाउँदै

काठमाडौंः नेवार समुदायले आज योमरी पुन्ही मनाउँदैछन्। नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले मार्ग शुक्ल पूर्णिमाका दिन योमरी पुन्ही मनाउने गर्छन्।
योमरी एक प्रकारको खाद्यवस्तु हो। नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट योमरी बनाइन्छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पुन्ही मनाउँछन्। साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि रहेको छ।
यस्तै आजै किराँत धर्मावलम्बीहरूले उधौली पर्व मनाउँदैछन्। यो पर्व पनि अन्नबाली भित्र्याएपछि मनाइन्छ। आज किराँत धर्मका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन्।
आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली नामले चिनिन्छ। बाली लगाउने बेलामा भने उभौँली पर्व मनाइने प्रचलन छ।
पुष ४, २०७८ आइतबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।