एक करोड १० लाखमा बिक्री गर्न राखिएको सालकसहित एक जना पक्राउ

एक करोड १० लाखमा बिक्री गर्न राखिएको सालकसहित एक जना पक्राउ

काठमाडौंः प्रहरीले काठमाडौं महानगरपालिका–३२बाट जिउँदो सालकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका–६ का २६ वर्षीय उद्धव थामी रहेका छन्।

उनलाई दुर्लभ वन्यजन्तुको सूचीमा रहेको जिउँदो सालकसहित प्रहरीले पक्राउ गरेको हो।

केही व्यक्तिहरूले अवैध रुपमा बिक्री वितरण गर्नका लागि सालक लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनको कोठाबाट करिब एक करोड १० लाखमा बिक्री गर्ने उद्देश्यले राखेको सालक फेला पारी उनलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध एक हजार ४४० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको मोहनपुर गाउँपालिका–५ बस्ने २० वर्षीय गुड्डुकुमार राम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र३–००१ख १८०३ नम्बरको बसमा जाँच गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

पुष ३, २०७८ शनिबार १८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।