विमानस्थलबाट ५९० ग्राम सुन जस्तै धातु बरामद, दुई बङ्गलादेशी पक्राउ

विमानस्थलबाट ५९० ग्राम सुन जस्तै धातु बरामद, दुई बङ्गलादेशी पक्राउ

काठमाडौंः नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई बङ्गलादेशीलाई पक्राउ गरेको छ। ५९० ग्राम सुन जस्तै धातु लुकाइ छिपाइ लैजानेक्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

बिस्कुट आकारको वस्तु, चेन, औंठी, झुम्का र चुरासहित उनीहरूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू २२ वर्षीय सलमान अहमेद र ३० वर्षीय एमडि अबु जिहाद रहेका छन्।

उनीहरूमध्ये अहमेदको साथबाट ३ सय ३० ग्राम र जिहादको साथबाट २ सय ६० ग्राम सुन जस्तो देखिने धातु बरामद भएको हो।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय ह्याण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा सो वस्तु फेला पारी पक्राउ गरिएको हो।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइ आवश्यक अनुसन्धान एवं कारबाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

पुष ३, २०७८ शनिबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।