महाधिवेशनबारे सिटौलाको समीक्षा : एकता भएन भने अवस्था प्रतिकूल 

महाधिवेशनबारे सिटौलाको समीक्षा : एकता भएन भने अवस्था प्रतिकूल 

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा भएको बताएका छन्। आफ्नो समूहबाट महामन्त्रीमा पराजित प्रदीप पौडेलसँगै बसेका बसेका सिटौला महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा भएको बताए। 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैरआवासिय नेपाली सङ्घका सदस्यहरूसँग शुक्रबार काठमाडौंमा छलफल गर्दै सिटौलाले पार्टी भित्र सङ्गठन निर्माण गर्ने प्रतिस्पर्धा हुनु राम्रो भएको बताए।

‘हाम्रो सङ्गठन निर्माण गर्ने प्रतिस्पर्धाबाटै हो, राम्रो हेल्दी प्रतिस्पर्धा भएको छ’,सिटौलाले भने,‘केही सानातिना गुनासा छन्, त्यो अलग कुरा हो, यतिलाई हेल्दी नै मान्नुपर्छ।’ 

उनले महाधिवेशनको परिणामबाट सबै जिम्मेवार र केही गर्न सक्ने क्षमता भएका नै आएका बताए। 

उनले पार्टीमा एकता अपरिहार्य रहेको बताए। देशमा हुने आम निर्वाचन कांग्रेसका लागि फेरि पनि परिणाम प्रतिकूल बन्न सक्ने भन्दै सिटौलाले पार्टीमा एकता आवश्यक रहेको बताए।

‘सम्पूर्ण एकता भएर गयौ भने पार्टीको भविष्य राम्रो देख्छु’, सिटौलाले भने,‘एकता गर्न सकिएन भने फेरि पनि परिणाम प्रतिकूल बन्न सक्छ।’ उनले स्थानीय तहदेखि नै पार्टीमा एकता कायम गराउन विदेशमा रहेका नेपालीलाई आग्रह पनि गरे। 

लगानी नेपालमा ल्याउन आग्रह 

कांग्रेस पूर्वमहामन्त्री सिटौलाले संविधानमा गैरआवासिय नेपालीका ९० प्रतिशत माग सम्बोधन भएको बताए। ‘केही कमजोरी होला, तपाईँहरूको केही माग सम्बोधन नभएको होला’, सिटौलाले भने,‘त्यसमा क्रमिक रूपमा सम्बोधन हुँदै जान्छ।’

बाहिर गएर उतैको नागरिकता लिए पनि माया नेपालकै हुने सिटौलाले बताए। ‘उताको नागरिकता लिनु तपाईँहरूको बाध्यता होला’,उनले भने,‘यताको माया स्वाभाविक हो, नेचुरल हो।’

उनले बाहिर बसेर कमाएको पैसा नेपालमै ल्याउन सुझाव दिए। नेपालमा लगानी गर्ने पर्याप्त ढोका खोलिदिएको भन्दै सिटौलाले नेपालबाट विदेश गएर उतैको नागरिकता लिए पनि संविधानले राजनीतिक बाहेक सबै अधिकार दिएको बताए। ‘त्यसकारण लगानी चाहिँ यतै ल्याउनुहोस्’,उनले भने,‘उता कमाउने यता ल्याउने।’ उनले विदेशमा बसेका नेपालीले स्वदेशमा लगानी गरे नेपालको भविष्य राम्रो हुने बताए। 

एनआरएनएको विवाद आफै समाधान गर्नुहोस् 

कांग्रेस नेता सिटौलाले गैरआवासिय नेपाली सङ्घको चुनावमा पार्टीबाट कोही आधिकारिक उम्मेदवार नभएको बताए। कुनै व्यक्तिको सद्भाव भए पनि त्यसलाई पार्टीको उम्मेदवार भन्न नमिल्ने उनले बताए। उनले एनआरएनए भित्रको विवाद आफै सुल्झाउन सुझाव पनि दिए।

एनआरएनए छुट्टै’ संस्था भएको भन्दै सिटौलाले यसमा सकेसम्म राजनीतिक प्रभाव हुन हुँदैन भन्ने आफ्नो मान्यता रहेको सुनाए। उनले एनआरएनएको विवादमा पार्टीको हस्तक्षेपलाई निमन्त्रणा नगर्न सुझाव पनि दिए।

‘राजनीतिक प्रभाव बढ्दै जान्छ, चाहे कांग्रेस, चाहे एमाले, चाहे माओवादी, राप्रपा, साना दल जो कोही’,उनले भने,‘यसले संस्थाको एजेन्डा र गन्तव्यमा कहीँ न कहीँ ठेस लाग्छ।’ 

उनले बाह्य हस्तक्षेप नभित्र्याउन र संस्था भित्रको समस्या आफै समाधान गर्न सुझाव दिए। गैरआवासिय नेपालीलाई चाहिने सुविधा, सहयोग, पोलिसिका लागि नेपालका राजनीतिक दल र सरकारलाई भन्न आग्रह गर्दै सिटौलाले भने,‘तर तपाईँहरूको सङ्गठन निर्माण गर्ने कुरामा को ठिक को बेठिक भन्ने कुरामा दलहरूलाई आग्रह नगर्नुहोस्।’ 

उनले कांग्रेसको जनसम्पर्क समिति भए पनि गैरआवासिय नेपाली सङ्घ कुनै पनि राजनीतिक दलको सङ्गठन नभएको बताए। सङ्घमा सबै राजनीतिक आस्था विचार भएका व्यक्तिहरू हुनुहुन्छ’,सिटौलाले भने,‘यो कुनै दलको शुभेच्छुक र भातृ संस्था होइन।’ 

कांग्रेसको समर्थन छैन, व्यक्तिको हुन सक्छ

नेता सिटौलाले गैरआवासिय नेपाली सङ्घको आधिकारिक उम्मेदवार पार्टीले नतोक्ने बताए। आफ्नो संस्थाभित्रको उम्मेदवार तोक्ने विषय आफू मिलाउन सुझाव दिँदै सिटौलाले पार्टीले कसैलाई आधिकारिक उम्मेदवार नतोकेको बताए। 

उनले पार्टीका निर्वाचित सभापति, उपसभापति, वरिष्ठ नेतालाई भेटेर आफ्नो संस्थाभित्रको उम्मेदवार आफै तोक्छौ भन्न सुझाव दिए। ‘तपाईँहरू हाम्रो शुभेच्छुक संस्था पनि होइन, भातृ संस्था पनि होइन’सिटौलाले भने,‘नेताहरूको आ आफ्नै इन्ट्रेस्ट हुनसक्छ,त्यसलाई संस्थाभित्र प्रवेश गराउनु हुँदैन, संस्थालाई स्वतन्त्र राख्नुपर्छ।’ 

गैरआवासिय नेपाली सङ्घकी वर्तमान उपाध्यक्ष एवं अध्यक्षकी उम्मेदवार रबिना थापाले एनआरएनएलाई स्वतन्त्र संस्थाका रूपमा चल्न दिनु पर्ने बताइन। थापाले राजनीतिक हस्तक्षेप हुन नदिन आफूहरू लागि रहेको बताइन।

पुष २, २०७८ शुक्रबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।