सार्वजनिक कुलो मासेर प्लटिङलाई बाटो

सार्वजनिक कुलो मासेर प्लटिङलाई बाटो

दाङ : घोराही १७ भैसाहीको साबिक हरिद्वार ९’ग’ ८१ नम्बर कित्तामा पर्ने चौघेरा, भैसाही, बर्गद्दी र ओखरा ४ गाऊँ सिँचाइ गर्ने सार्वजनिक कुलो मासेर जग्गा व्यवसायीले घडेरी बनाएका छन्।

जग्गा कारोबारीहरूले सार्वजनिक कुलो नै मासेर ह्युमपाइप हालेका छन्। सार्वजनिक सम्पत्तिमा क्षति पूर्याए पनि घोराही उपमहानगरपालिकाले भने चासो देखाएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोबारे उजुरी परेर कुलोको संरक्षण गर्न निर्देशन समेत आइसकेको छ।

घोराही उपमहानगरपालिकाका प्रशासनतर्फका उपसचिव वासुदेव आचार्यले अख्तियारले कारबाही गर्न घोराही उप महानगरपालिकालाई निर्देशन दिएको बताए। उपमहानगरले घोराही १७ को वडा कार्यालय र कुलो समितिका अध्यक्ष उमानन्द खनाललाई पत्राचार गर्दै ७ दिन भित्र कुलो मास्ने उद्देश्यले होमपाइप हाली माथिबाट माटो हालेर बनाएको सडक तत्काल रोक्न भनेको छ।

उप सचिव आचार्यले होम पाइप निकाल्न पत्राचार भइसकेको र ७ दिन भित्र ह्युमपाइप ननिकाले उपमहानगरले आफै एक्स्काभेटर लगाएर फाल्ने दाबी गरे।

`सार्वजनिक कुलो मासेर सडक बनाएको बारेमा अख्तियारमा ३ वटा उजुरी परेको रहेछ, अख्तियारले उपमहानगरलाई पत्र पठाएर उजुरी अनुसार कारबाही गर्न निर्देशन दिएको थियो,;आचार्यले भने 'अख्तियारले कारबाही गर्न भनेपछि उपमहानगरले प्राविधिक/इन्जिनियरसहितको टोली लगेर स्थलगत निरीक्षण गर्यौ। त्यहाँ कुलो मासि पाइप हालेर सडक बनाइएको रहेछ।'

उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने मन्त्रीपरिषद्ले निर्णय गरिसकेको र स्थानीय तह, स्वायत्त शासनमा पनि संरक्षण गर्नुपर्ने स्पष्ट उल्लेख भएकाले प्राकृतिक बहाव कुलाको पानीको क्षेत्र नै रोक्ने गरी सार्वजनिक जग्गा मास्न खोज्नु गलत र कानुन विपरीत भएको बताए।

'७ दिन भित्र पाइप हटाउन उपमहानगरले भनिसकेको छ, यदि अटेर गरे हामी आफै अघि बढेर फाल्छौ। तत्काल पाइप फाले/ नफालेको विषयमा अनुगमन गर्न पनि वडा कार्यालयलाई निर्देशन दिएका छौ, यो बारे हामीलाई वडाले पनि प्रतिवेदन पठाउँछ।'

पुष २, २०७८ शुक्रबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।