क्यानको कारबाहीमा परेका चार क्रिकेटरको प्रश्न : क्रिकेटमा गरेको समर्पणको सम्मान यही हो?

काठमाडौँ : अनुशासन उलङ्घन गरेको भन्दै नेपाल क्रिकेट सङ्घले कारबाही गरेको चार खेलाडीले विज्ञप्ति जारी गर्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले संयुक्त विज्ञप्ति निकाल्दै प्रश्न सोधेका छन् ' क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो?'
उनीहरूले नेपाली क्रिकेटमा भइरहेको पछिल्लो घटनाक्रमले दुखी बनाएको भन्दै जायज विषयमा गुनासो राख्दा उल्टो कारबाही गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। उनीहरूले पत्रकार सम्मेलन नै गरेर भने' हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्।'
उनीहरूले नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गर्न आग्रह गर्दै खेलका लागि राम्रो वातावरण बनाउन सङ्घले अभिभावकी भूमिका खेल्दै निर्णयमा पुनर्विचार गर्न माग गरेका छन्।
उनीहरूको विज्ञप्ति :
नेपाली क्रिकेटमा विकसित भइरहेको पछिल्लो घटनाक्रमले हामीलाई निकै दुःखी बनाएको छ। यति बेला हामी खेलाडीहरू T-20 ग्लोबल क्वालिफायर र WCLC जस्ता महत्त्वपूर्ण प्रतियोगिताहरूको तयारीमा व्यस्त हुन पाउनुपर्ने थियो। तर आफैँ स्पष्टीकरण दिइहिँड्नु पर्ने अवस्था बनेको छ, यो राम्रो लागेको छैन।
तर नेपाल क्रिकेट सङ्घ (क्यान)को पछिल्लो निर्णयपछि धेरै पत्रकार साथीहरूले चासो राख्नुभयो, हाम्रो धारणा माग्नुभयो। क्रिकेट सङ्घको पत्र आओस्, त्यसपछि आफ्नो धारणा राखौँला भन्ने थियो।
तर क्रिकेट सङ्घले विज्ञप्ति नै जारी गरेर आफ्नो निर्णय सार्वजनिक गरिसकेको र पदाधिकारीहरूले पनि त्यसबारे सञ्चार माध्यमहरूमा आफ्नो धारणा ल्याइरहनु भएकाले हामीले पनि केही भन्नु उपयुक्त हुन्छ भन्ने लागेर यो पत्रकार सम्मेलन आयोजना गरेका हौँ।
नेपाली क्रिकेट कुन अवस्थाबाट आजको स्थितिमा आयो, हामी खेलाडीहरूले कस्तो कठिन अवस्थामा पनि क्रिकेट खेलिरह्यौँ, तपाईंहरुलाई भनिरहनु नपर्ला। हामीले कहिल्यै मैले के पाउँछु भनेर हेरेनौँ।
तलब आउँछ कि आउँदैन ? सेवा सुविधा के पाउँछौँ ? सोधेनौँ, खोजेनौँ। हामी खेलाडीहरूको एउटै लक्ष्य हुन्थ्यो, आज पनि छ, कसरी मैदानमा राम्रो प्रदर्शन गर्ने, देशलाई जिताउने र सारा नेपालीहरूलाई खुसी दिने।
हिजो हामी डिभिजन फाइभमा थियौँ। खेलाडीहरूको मेहनत र सबैको साथ सहयोगले नेपालले T-20 विश्वकप खेल्यो, ODI नेशनको मान्यता पायो। केही ऐतिहासिक सिरिज पनि जित्यौँ। यो सफलतालाई निरन्तरता दिने मात्र होइन, अझ माथि लैजान सकियोस् हामी चाहन्छौँ।
तर यसका लागि मैदानमा खेलाडीहरूको मेहनतसँगै मैदान बाहिर पनि त्यही अनुसार वातावरण बनोस् भन्ने चाहन्छौँ।
तर पछिल्लो समय खेलाडीहरूको ग्रेडिङलाई लिएर जुन विवाद देखिएको छ, यसले हामीलाई अत्यन्तै दुःखी बनाएको छ। हामीले बुझेको खेलाडीहरूको ग्रेडिङ उसले पाउने तलब मात्र होइन, देशका लागि गरेको योगदानको कदर पनि हो, अझ राम्रो गर्न प्रोत्साहन पनि हो।
नेपाली क्रिकेटमा सन् २०१५ तिर ग्रेडिङको सुरुवात भयो। हामीले बुझेसम्म नेपाल T-20 विश्वकपमा पुगेपछि आइसिसीले प्लेयर्स बेनिफिट फण्डबाट ५० हजार डलर टिमलाई खर्च गर्ने गरी उपलब्ध गराएको थियो।
त्यस बेला तत्कालीन क्यान, प्रशिक्षक, कप्तान, उपकप्तान र केही सिनियर खेलाडीहरूबिच छलफल गरेर यो रकमलाई राष्ट्रिय टिमका १४/१५ खेलाडीलाई मात्र नभई क्याम्पमा रहेका अन्य खेलाडीसम्म पनि समेटेर अगाडि बढ्ने निष्कर्षमा पुग्यौँ।
त्यसअनुसार खेलाडीहरूको ग्रेडिङ गर्ने र मासिक तलब लिने व्यवस्था भयो । यसले हामी खेलाडीहरूको मनोबल बढ्ने हाम्रो विश्वास थियो।
तर त्यसमा समस्या देखिन थाल्यो। समयमा तलब आएन, क्रिकेट सङ्घ निलम्बनमा परेको बेला भनेर हामीले चित्त बुझ्यौँ। जब क्यानको निलम्बन हट्यो, हामीलाई लागेको थियो अब अवस्था सहज हुँदै जाने छ। तर दुःखका साथ भन्नुपर्छ, क्यानले २०२० का लागि ढिला गरी गरेको ग्रेडिङ पनि विवादमा पर्यो। हामीले पनि आफ्नो धारणा राख्यौँ, क्यान पनि छलफलका लागि तयार भयो।
छलफलमा ग्रेडिङमा परेकाहरूलाई कायमै राख्दै अपग्रेड हुनुपर्नेहरुलाई अपग्रेड गर्ने, जो खेलाडीहरू ग्रेडिङमा छुटेका छन्, उनीहरूलाई समावेश गर्ने र आगामी दिनमा निश्चित मापदण्ड बनाएर समयमै सम्झौता गर्ने सहमति भएको थियो।
तर २०२१ को ग्रेडिङ पनि पूर्व सहमति अनुसार समयमै हुन सकेन। सुरुको तीन महिना अघिल्लो वर्षकै ग्रेडिङका आधार विना सम्झौता हामीलाई तलब दिइयो। त्यसपछि पनि ग्रेडिङमा प्रगति भएन, एकै पटक अक्टोबर अन्त्यतिर खेलाडीलाई बोलाएर सम्झौता पत्रमा हस्ताक्षर गर्न भनियो। मापदण्ड कस्तो बनेको छ, किन यो ग्रेडमा परेको हो भन्ने समेत जानकारी दिइएन।
मापदण्ड बनाउँदा कप्तान, उपकप्तान र सिनियर खेलाडीहरूसँग परामर्श गर्ने विगतको परम्परा पनि तोडियो। केही खेलाडीले सम्झौतामा हस्ताक्षर गरे, तर ग्रेडिङमा त्रुटि भएको थाहा भयो।
म स्वयंले कार्यवाहक सचिवलाई फोन गरेर यसबारे जानकारी गराएको थिएँ। किनकि लागेको थियो, क्यानले संवाद गर्ला, विगतमा झैँ संवाद र छलफलको माध्यमबाट कमीकमजोरी पहिल्याएर सच्याउने अग्रसरता लेला।
क्यानका पदाधिकारीहरूले पनि सार्वजनिक रूपमै स्वीकार गर्नुभएको थियो कि अप्रिल/मेमा मापदण्ड र ग्रेडिङ तयार भएको तर, अक्टोबरको बोर्ड बैठकमा पेस गरेर पास गरेका कारण यस्तो अवस्था आएको हो।
ग्रेडिङ समयमै हुनुपर्थ्यो। जे सुकै कारणले होस्, १० महिना ढिला भइसकेको अवस्थामा राष्ट्रिय टिममा भएका, तर ग्रेडिङ छुटेकाहरूलाई पनि समावेश गरौँ।
ग्रेडिङमा पनि आवश्यकता अनुसार सुधार गरौँ र आगामी दिनमा मापदण्ड बनाएर, त्यसअनुसार २०२२ समयमै सेन्ट्रल कन्ट्याक्ट होस्। यसका लागि क्यानले अग्रसरता लेओस्। क्यानका पदाधिकारीहरूसँग भएको संवादहरूमा पनि त्यही भनेका थियौँ।
तर उल्टो सम्झौतामा हस्ताक्षर नगरेको तथा ग्रेडिङमा असन्तुष्टि जनाएको विषयलाई लिएर हामीलाई स्पष्टीकरण सोध्ने काम भयो। जवाफ दिनु हाम्रो कर्तव्य थियो, त्यसैले मापदण्डमा भएको त्रुटि सच्याउनुपर्ने मतसहित जवाफ दियौँ।
टिममा रहेका अरू साथीहरूले पनि ग्रेडिङमा त्रुटि भएको सच्याउनुपर्ने धारणा राखेपछि हामीले क्यानको ध्यानाकर्षण गरायौँ। हामीले खेलाडीहरूले पाउँदै पाएको म्याच फि नपाएको, भत्ता पहिला भन्दा कम भएको, बिमा, रिह्याब नभएको, त्रिदेशीय सिरिज जितेको प्रोत्साहन स्वरूप पुरस्कारका लागि पहल गर्नुपर्ने लगायतका विषयमा पनि हामीले लिखित रूपमै ध्यानाकर्षण गराएका हौँ। त्यसपछि क्यानले छलफलमा बोलायो।
काठमाडौँमा उपलब्ध खेलाडीहरूसँग भएको त्यो छलफलमा सहभागी क्यानका केही पदाधिकारी र कर्मचारीहरूले सबै खेलाडीलाई मापदण्ड र सम्झौताका साथै अरू विषयमा पनि लिखित रूपमै जानकारी गराउने भन्नु भएको थियो। तर अहिलेसम्म कुनै जनकारी लिइएको छैन।
बरु केही दिनमै हामी चार जनालाई पहिलोको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै ७२ घण्टाभित्र स्पष्टीकरण दिन भनियो। हामीले दोस्रो पटक उहाँहरूलाई जवाफ दियौँ। हामीलाई लागेको थियो, हामीले उठाएका विषयमा क्यानको बोर्ड बैठकमा छलफल होला, निकास खोज्ला। तर क्यानका कतिपय पदाधिकारीबाट सार्वजनिक रूपमा हामीलाई लाञ्छना लगाउने, कारबाही गर्नेसम्मका धम्की दिने काम भयो।
तर एक्कासि कप्तान र उपकप्तान हटाउने, २०२२ मा ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाही गरेको समाचारहरू आए। यसले हामीलाई निकै दुःखी बनाएको छ।
के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो? आफ्नो हक अधिकारका लागि आवाज उठाएकै आधारमा देशका बर्सै खेलेका, आफ्नो सबै इच्छा आकाङ्क्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला?
हामी अहिले पनि चाहन्छौँ, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौँ, खेलका लागि राम्रो वातावरण बनोस्। यसका लागि नेपाल क्रिकेट सङ्घले अभिभावकी भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्। हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्।
ज्ञानेन्द्र मल्ल
दीपेन्द्र सिंह ऐरी
सोमपाल कामी
बकमल सिंह ऐरी
पुष २, २०७८ शुक्रबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।