हार्दा रक्षामन्त्रीले राजीनामा दिए अब कर्णालीका मुख्यमन्त्रीले के गर्लान् !

काठमाडौँ : पार्टी र सरकारको त्यति खासै सम्बन्ध नहुने भए पनि पार्टीका प्रतिनिधिले नेतामा नपत्याएपछि त्यही पार्टीबाट कसरी सरकारमा बस्ने भन्ने नैतिक प्रश्न त उठ्छ नै।
त्यही नैतिक प्रश्नको घेरामा पर्दा महामन्त्रीमा पराजित भएका मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिए। उनले पार्टीको प्रतिनिधित्व गरेर सरकारमा बस्ने नेतृत्वको पुजी गुमाएको भन्दै बिहीबार राजीनामा दिए।
शुक्रवार आएको सह-महामन्त्रीको नतिजामा मन्त्री हैन प्रदेशकै नेतृत्व गर्ने मुख्यमन्त्री नै पराजित भए। पिछडिएको क्षेत्रबाट सह-महामन्त्रीको उम्मेदवार बनेका शाही अर्का उम्मेदवार बद्री पाण्डेसँग पराजित भए।
शाही पार्टीको संस्थापन समूहबाट उम्मेदवार बनेका थिए भने पाण्डे शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए।
पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाएका थिए।
हालै माओवादी केन्द्रबाट नेतृत्व लिएका शाही पराजित हुँदा मिनेन्द्रको निर्णयले उनलाई राजीनामाको नैतिक दबाब भने बढाएको छ।
पुष २, २०७८ शुक्रबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।