
कांग्रेस महामन्त्रीको रोचक भोट शैली : मिनेन्द्रको हजार अनि प्रदीपको ६ सय मत विश्वप्रकाशलाई

काठमाडौँ : प्यानलका हिसाबले कमजोर देखिएका विश्वप्रकाश शर्माले बलिया २ प्यानलका उम्मेदवारलाई हराएर महामन्त्री हुँदा गगन थापासँगको मत सेयरिङ र उनको व्यक्तिगत एक छापे मत निर्णायक बनेको देखियो।
पहिलो चरणको मतदानमा सभापतिमा शेरबहादुर देउवाले २ हजार २ सय ५८ मत पाएका थिए। सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ७ सय २ मत पाएका थिए। पहिलो चरणमा देउवाले ४८ प्रतिशत मात्र मत पाए। शेखरले ३६ प्रतिशत। ५० प्रतिशत बढी मत नआए पुन निर्वाचन हुने प्रावधान अनुसार सभापतिको दोस्रो चरणको निर्वाचन भयो। अन्य पदाधिकारीका लागि भने पहिलो चरणकै मतदान नै निर्णायक हुने वैधानिक प्रावधान छ।
संस्थापनइतर समूहमा रहेका गगन महामन्त्रीका बलिया उम्मेदवार देखिएका थिए। मत शैलीले पनि त्यही देखाए। महामन्त्रीका उम्मेदवारमध्ये आफ्नै प्यानलका मिनेन्द्र रिजालभन्दा अन्य उम्मेदवारसँग उनको बढी संयुक्त मत आएको थियो। महामन्त्रीका प्राय सबै उम्मेदवारसँग गगनले संयुक्त मत पाए।
संस्थापन र इतर दुवै प्यानलमा नअटेपछि अन्तिम समयमा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका विश्वप्रकाशले सबैभन्दा धेरै गगनसँग संयुक्त मत पाए। दोस्रोमा विश्व-प्रकाशशरणको संयुक्त मत आएको थियो। अन्य उम्मेदवारसँग उनले थोरै-थोरै मत पाए। एकल मतमा भने उनी सबैभन्दा अगाडि देखिए।
कुल ४ हजार ६ सय ८२ मत खसेको थियो। त्यसमा ४३ मत बदर भयो। सदर मतमध्ये गगनले ३ हजार २३ मत, विश्वप्रकाशले १ हजार ९ सय ८६, प्रकाशशरणले १ हजार ५ सय ५६, प्रदीप १ हजार तीन सय ९३, मिनेन्द्र रिजालले ८ सय ९ राजाराम कार्कीले १ सय ६ मत पाएका थिए।
मिनेन्द्र र प्रदीपको मत क्रस
मत क्रसहुँदा बलियो मानिएको शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेलको हारको मुख्य कारण नै गगन र विश्वप्रकाशले सो समूहबाट उल्लेख्य सङ्ख्यामा मत क्रस गराउन सफल भएकाले हो।
मतगणनामा संलग्न स्रोतबाट उकेराले पाएको मतको शैली अनुसार गगन र विश्वप्रकाशले सबैभन्दा धेरै संयुक्त मत पाए। यी दुवैले एक हजार बढी मत संयुक्त पाएका थिए। यसले मिनेन्द्रको मत काटियो नै संस्थापनका उम्मेदवारको मत समेत यतै आयो।
एकै प्यानलका गगन र मिनेन्द्र रिजाललाई जम्मा ६ सय हाराहारीमा संयुक्त मत परेको छ। संस्थापन समूहका उम्मेदवार प्रकाशशरण र प्रकाशमान समूहका उम्मेदवार विश्वप्रकाशले ६ सय मत संयुक्त पाए। यो मत प्रदीपकोमा गएन। मिनेन्द्र र विश्वको संयुक्त मत ५० छ। विश्वले सबैभन्दा धेरै एकल मत पाए। उनले २ सय ७३ एकल मत पाएका थिए। महामन्त्रीका अन्य उम्मेदवारबाट पनि उनले संयुक्त मत पाए।
गगनलाई सबै प्यानलबाट क्रस मत
गगन र प्रदीपले पाएको संयुक्त मतको सङ्ख्या ३ सय छ। उता प्रकाशशरण र गगनमा तीन सय नै संयुक्त मत परेको थियो। उता विमलेन्द्र निधिको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका डा राजाराम कार्की र गगनबिच २५ संयुक्त मत आएको थियो।
संस्थापन समूहका संयुक्त उम्मेदवार प्रकाशशरण र प्रदीपले ६ सय मात्र संयुक्त मत पाएका थिए। एकल मत ल्याउनेमा दोस्रोमा प्रदीप थिए। उनलाई एक सय ५० मत एक छापे गरेको थियो। गगनलाई एक सय मत एक छापे पाए। प्रकाशशरणको एक सय ६ एकल मत
प्रदेश २ र गण्डकीमा गगन बलियो
प्रदेश अनुसार हेर्दा प्रदेश २ र गण्डकीबाट गगनलाई ७० प्रतिशत मत आएको थियो। केन्द्रीय कार्यसमिति, भातृ संस्था र विदेशका महाधिवेशन प्रतिनिधीहरुबाट उनले ६४ प्रतिशत मत पाए। प्रदेश लुम्बिनी, कर्णाली, प्रदेश १, बागमती र सुदूरपश्चिमबाट उनले ६१ प्रतिशत हाराहारीमा मत पाए।
पुष २, २०७८ शुक्रबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।