
एमालेले भन्यो, एमसीसी अनुमोदनका लागि मात्रै संसद् चलाउन दिँदैनौँ

काठमाडौँ : नेकपा एमालेले एमसीसी अनुमोदनका लागि मात्रै संसद् चलाउन नदिने बताएको छ। पार्टीले कारबाही गरेका १४ सांसद पदमुक्त हुनु पर्ने या पदमुक्त नगर्ने सभामुख अग्नि सापकोटाले मार्ग प्रशस्त नगरेसम्म संसद्मा अवरोध जारी रहने एमाले महासचिव शङ्कर पोखरेलले बताए।
महासचिव पोखरेलले काठमाडौँमा पत्रकार सम्मेलन गरेर एमसीसीको बारेमा सरकारकै टुङ्गो नभएको बताए। ‘एमसीसीको बारेमा सरकारले के गर्छ भन्ने नै टुङ्गो छैन,’पोखरेलले भने,‘संसद्मा हाम्रो आफ्नै कुरा छ। कारबाही गरेका सांसदहरू राखेर संसद् चलाउन दिँदैनौ।’
उनले माधव कुमार नेपालको नयाँ दल दर्ता विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला नआउन्जेल अन्य कुरा अघि नबढ्ने बताए। उनले संसद्को अवरोध खुलेपछि मात्रै बिजनेसमा प्रवेश गर्ने बताए।
एमालेले आठौँ महाधिवेशनदेखि नै पुस्तान्तरण गरेको र अहिले अन्य पार्टीले फलो गरेको पोखरेलको भनाई थियो। उनले अहिले एमाले केन्द्रीय कमिटीमा ४५ प्रतिशत नयाँ अनुहार रहेको बताए।
महासचिव पोखरेलले राष्ट्रिय सभा चुनाव आफ्नो दलका लागि प्राथमिकता नभएको बताए।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजा र माओवादीको सत्य कुरा उठाएको जिकिर समेत गरे। ‘माघ १९ पछिको माओवादीको वक्तव्यले त्यो कुरा सङ्केत गर्छ’,उनले भने,‘हामीले मिथ्या कुरा गरेका छैनौँ।’
एमालेका नेता भीम रावल केन्द्रीय कमिटीमा नरहे पनि केन्द्रीय सल्लाहकार कमिटीमा रहेको पोखरेलले बताए। पार्टीमा थप भूमिकाका विषयमा अध्यक्ष केपी ओलीसँग रावलले छलफल गर्न सक्ने पोखरेलले बताए।
पुष २, २०७८ शुक्रबार १५:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।