
अपवित्र गठजोठ विरुद्ध लड्यौँ र राजनीति जित्यौँ : शेखर कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोठ भएको आरोप लगाएका छन्।
कांग्रेस सभापतिमा पराजित भएका नेता कोइरालाले आफूहरु विरुद्ध अपवित्र गठजोड भएको आरोप लगाएका हुन्।
शुक्रबार विज्ञप्ति निकालेर कोइरालाले तरल पनि आफूहरू लडेको र राजनीति जितेको दाबी गरेका छन्। ‘पार्टीलाई जबाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो। हामीसँग ऊर्जावान् युवाहरूको समूह थियो’, विज्ञप्तिमा लेखिएको छ,‘पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ।’
उनले पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रूपमा लिँदै कांग्रेस रूपान्तरणको एजेन्डामा निरन्तर क्रियाशील हुने उल्लेख गरेका छन्।
‘केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरू र लोकतन्त्रवादीहरूको मन जित्न सफल भएका छौँ। पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरूबीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौँ’ कोइरालाले निकालेको विज्ञप्तिमा लेखिएको छ।
वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा नगरिएको उनले विज्ञप्तिमा लेखेका छन्। पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारको विरुद्ध लडेको जिकिर कोइरालाले गरेका छन्।
पार्टी भित्र गुट र भागबन्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरीत हुने निर्णय विरुद्ध लडेको उनले उल्लेख गरेका छन्।
पुष २, २०७८ शुक्रबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।