
कांग्रेस सहमहामन्त्री : संस्थापन दुई र इतर एक विजयी

काठमाडौँ : नेपाली कांग्रेसको ३ सहमहामन्त्री मध्ये दुईमा संस्थापन र एकमा संस्थापनइतर विजयी भएका छन्।
महिलातर्फको सहमहामन्त्रीमा संस्थापन प्यानलकी महालक्ष्मी उपाध्याय डिना र आदिवासी जनजातितर्फ भीष्मराज आङदम्बे विजयी भएका छन्। दलिततर्फ संस्थापनइतर प्यानलका जीवन परियार विजयी भएका छन्।
महिलातर्फको सहमहामन्त्रीमा विजयी महालक्ष्मी उपाध्याय डिनाले २ हजार ५३३ मत प्राप्त गरिन्। प्रतिस्पर्धी संस्थापनइतरकी कमला पन्त २ हजार १०५ मत ल्याएर पराजित भइन। महिलातर्फको मतगणनामा ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै आदिवासी जनजातितर्फ संस्थापन प्यानलका भीष्मराज आङदम्बे २ हजार ७११ मत ल्याएर विजयी भएका छन्। प्रतिस्पर्धी संस्थापनइतरका विकास लामा १ हजार ९१२ मत ल्याएर पराजित भए। निर्वाचन समितिका अनुसार आदिवासी जनजातितर्फका मतगणनामा ६५ मद बदर भएको छ।
यस्तै दलिततर्फ संस्थापनइतर समूहका जीवन परियार २ हजार २१२ मत ल्याएर विजयी भएका छन्। प्रतिस्पर्धी संस्थापन प्यानलका मानबहादुर विश्वकर्मा २ हजार १७५ मत ल्याएर पराजित भए।
प्रकाशमान सिंह प्यानलकी गङ्गा सुनुवारले २३२ मत मात्र प्राप्त गरिन। दलिततर्फको मतगणनामा ७५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
पुष १, २०७८ बिहीबार २३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।