फुसको घरमा आगलागी हुँदा तीन र आठ वर्षीया बालिकाको मृत्यु

फुसको घरमा आगलागी हुँदा तीन र आठ वर्षीया बालिकाको मृत्यु

सर्लाहीः जिल्लाको कविलासी नगरपालिका-७ सिरसिरयामा आगोले जलेर तीन जनाको मृत्यु भएको छ। गए राति ९ः१५ बजेको आसपासमा विद्युत् सर्ट भएर आगलागी हुँदा फुसको घरमा बसेका जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो।

गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो। 

आगोले जलेर जोगी महरा र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन्। आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन्।

यता सर्लाहीकै मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ। आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।

अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्नेक्रममा आगोमा परेका थिए।

पुष १, २०७८ बिहीबार १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।