झापामा बस र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

झापाः कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठोकिँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र पछाडि सवार अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठोकिएका हुन्।
दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको थियो। प्रहरीले बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाललाई नियन्त्रणमा लिएको छ।
पुष १, २०७८ बिहीबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।