हारपछि सुजाताको सन्देश: कांग्रेसलाई एकढिक्का बनाउने

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित सुजाता कोइरालाले अब आफू कांग्रेसलाई एकताबद्ध बनाउन लागि पर्ने बताएकी छिन्। उनले फेसबुकमार्फत नेपाली कांग्रेस एकढिक्का भए मात्र लोकतन्त्र बलियो हुने भन्दै कांग्रेसलाई एकताबद्ध बनाउने भूमिकामा लाग्ने बताएकी हुन्।
उनले आफ्नो प्रयासले कांग्रेसमा महिला नेतृत्व आउने बाटो खुलेको समेत लेखमार्फत दाबी गरेकी छिन्।
शेखर कोइरालाको साथ छाडेर प्रकाशमान सिंह समूहमा गएकी उनले निर्वाचनमा आफ्नो राजनीतिक जित भएको बताएकी छिन्।
'मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरूमा जुन हौसला देखेँ त्यसले निकट भविष्यमा महिला कांग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ। यो मेरा लागि राजनीतिक जीत हो', उनले लेखेकी छिन्, 'म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु।'
उनले सबैलाई महाधिवेशनपछि एकढिक्का हुन समेत अपिल गरेकी छिन्।
यस्तो छ उनको सन्देश
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा म र मेरो टीमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु। तपाईंहरूले दिनुभएको अमूल्य मतको सधै सम्मान गर्नेछु। मैले उठाउँदै आएको लैङ्गिगलगायत सबै किसिमका अससमानताको विरुद्ध अविचलित रही लडिरहने प्रण गर्दछु।
मैले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु। कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ। देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरू विशेषगरी महिलाहरूको मुहारमा आशा र उत्साह देखेको छु। यसले मलाई अझै हौसला थपेको छ।
मैले उपसभापति जस्तो महत्वपूर्ण पदमा मत माग्दै गर्दा हजारौं महिलाहरूमा जुन हौसला देखें त्यसले निकट भविष्यमा महिला कांग्रेसको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको छ। यो मेरा लागि राजनीतिक जीत हो। म भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको यो संघर्षमा अविचलित रही बढिरहने प्रण गर्दछु।
गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधै प्रेरित छु। पार्टीभित्र र सिंगो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ। म सबैलाई महाधिवेशनपछि एकढिक्का हुन अपिल गर्दछु। नेपाली कांग्रेस एकढिक्का भए मात्र लोकतन्त्र बलियो हुन्छ। मेरो अबको भूमिका कांग्रेसलाई एकताबद्ध बनाउन पनि हुनेछ।
अन्तमा, उपसभापतिमा विजयी पूर्णबहादुर खड्का र धनराज गुरुङलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको कामना गर्दछु।
धन्यवाद
पुष १, २०७८ बिहीबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।