कांग्रेस महामन्त्री को होलान् ?

काठमाडौँ : नेपाली कांग्रेसको उपसभापतिमा दुवै समूहबाट एक-एकाना निर्वाचित भएपछि महामन्त्रीको नतिजाप्रति चासो बढाएको छ।
महामन्त्रीमा तीन समुहका बलिया प्रतिष्पर्धी छन्। संस्थापनबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल, संस्थापनइतरबाट मिनेन्द्र रिजाल र गगन थापा र प्रकाशमान सिंहबाट विश्वप्रकाश शर्मा बलिया उम्मेदवार हुन्।
निर्वाचनमा संस्थापनको समुहगत भोट बलियो छ। तर उपसभापतिमा संस्थापनइतरबाट धनराज गुरुङले जिते। मतदानको दिन महामन्त्रीमा व्यापक भोट क्रस हुने अनुमान थियो। सर्वेक्षणले समेत यस्तै देखाएको थियो।
महामन्त्रीको उम्मेदवार चयनमा समूह अदल बदल भएको थियो। १३ औँ महाधिवेशनबाट साथ दिएका विश्वप्रकाश शेरबहादुर देउवा समूहबाट महामन्त्रीको टिकट नआएपछि अन्तिम समयमा प्रकाशमान समूहमा खुले।
देउवा समूहमा कृष्णप्रसाद सिटौला समुहबाट प्रदीप पौडेल उम्मेद्वार बने। आफ्नो निकट रिजाललाई महामन्त्रीको उम्मेदवार बनाएर पनि शशांक कोइराला शेखर कोइरालाको पक्षमा खुलेनन्। युवा मतदातामाझ लोकप्रिय थापाले शेखरलाई साथ दिइरहे। वडादेखि नै थापा-सिंह सहकार्य थियो। सिंहले २ जनाको पदमा शरालाई मात्र उम्मेदवार बनाएकाले प्रकाशमान समूहको एक भोट उनलाई जानसक्छ।
लामो समय देउवासँग काम गरेका विश्वप्रकाशले सो समूहको भोट तान्ने र देउवा समूहका प्रभावशाली बालकृष्ण खाँण, रमेश लेखकले प्रदिपलाई असहयोग गरेको खन्डमा उनलाई कठिन हुनसक्छ। तर देउवा समूहको मतदान शैली प्यानलको उम्मेदवारप्रति प्रतिवद्द देखिएको छ।
उपसभापतिमा झिनो मतले धनराजले जित्नुमा देउवा लगायतका समूहमा रहेका जातिय भोट प्रमुख कारण देखिन्छ।
महामन्त्रीको मतगणना आज बिहान बिहान ८ बजेदेखि थालिने भएकाले दिउस मत परिणाम आउनसक्छ।
पुष १, २०७८ बिहीबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।