महेशलाई महाधिवेशन प्रतिनिधिको सम्मान, प्यानलमा नपर्दा पराजित

काठमाडौँ : पार्टीमा हुर्किएको गुट भत्काउन उपसभापतिका स्वतन्त्र उम्मेदवार बनेका महेश आचार्यले जित्न सकेनन्। तर कुनै प्यानलमा नबसी स्वतन्त्र उम्मेदवार बनेका उनलाई महाधिवेशन प्रतिनिधीहरुले सम्मान भने गरेका छन्।
पार्टीभित्र वैचारिक नेताको छवि बनाएका उनी २०७४ को निर्वाचनमा पराजित भएपछि सक्रिय राजनीतिमा अलि कम देखिएका थिए। कान्छो उमेरमा अर्थमन्त्री भएका उनी १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबिच उम्मेदवार चयनमा मारामार भइरहेको बेला यीनले अकस्मात् उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए। उनले आफ्नो प्रचार पनि निकै शालीन बनाउँदै महाधिवेशन प्रतिनिधीहरुलाई हस्तलिखित सन्देश बाँडेका थिए।
संस्थापन शेरबहादुर देउवा र संस्थापनइतरका २ समूहमध्ये उनी कतै पनि खुलेनन्। महाधिवेशन प्रतिनिधीहरुसँगै चौरमा बसेर बदाम खाँदै मत मागेका थिए।
आचार्यसँगै प्रकाशमान सिंहको समूहबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाता कोइराला, संस्थापन समूहबाट उम्मेदवार बनेका विजयकुमार गच्छदार अनि विमलेन्द्र निधी प्यानलकी दिब्यश्वरी शाह पनि पराजित भएकी छिन्। उपसभापतिमा संस्थापनका पूर्णबहादुर खड्का र संस्थापनइतर समूहबाट धनराज गुरुङले जिते।
पुष १, २०७८ बिहीबार ००:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।