वैदेशिक रोजगार व्यवसायीलाई मन्त्री श्रेष्ठको चेतावनी : ठगी गर्नेलाई पानी मुनि गएपनि छोड्दिन

वैदेशिक रोजगार व्यवसायीलाई मन्त्री श्रेष्ठको चेतावनी : ठगी गर्नेलाई पानी मुनि गएपनि छोड्दिन
तस्बिर : श्रममन्त्रीको सचिवालय

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गए पनि नछोड्ने चेतावनी दिएका छन्। 

एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको नेतृत्वमा ज्ञापन पत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरूलाई मन्त्री श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति नियन्त्रण गर्न व्यवसायी उतिकै जिम्मेवार हुनुपर्ने बताए।

मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने बताए। वैदेशिक रोजगारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको मन्त्री श्रेष्ठको भनाई थियो।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारको क्षेत्रमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीहरूलाई आग्रह गरे।

वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे मन्त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको उनले बताए।

उनले वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मर्जमा जान सुझाव पनि दिए।

मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवाला सबै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौतीहरू समाधान हुने बताए। सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसङ्गति र गैर कानुनी कामहरूलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी बनाउने योजना अघि बढाइएको जानकारी दिए।

सङ्गठनका अध्यक्ष सन्तकुमार लामाले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारलाई सहयोग गर्ने बताए। सङ्गठनले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या र आफ्ना माग समेटेर मन्त्री श्रेष्ठलाई १६ बुँदे ज्ञापन पत्र बुझाएको श्रममन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ।

मंसिर २९, २०७८ बुधबार २३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।