युवा साझेदारी घोषणा : महिलाको शत्रु महिला नै भन्ने कथनलाई गलत साबित गर्नु पर्छ

ललितपुर : ललितपुर उद्योग वाणिज्य सङ्घका महासचिव रूपक महर्जनले महिलाको शत्रु महिला नै भन्ने कथनलाई गलत साबित गर्नु पर्ने बताएका छन्।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा ललितपुरको पाटन संग्राहलय परिसमा भएको कार्यक्रममा अध्यक्ष महर्जनले महिलालाई उद्योग व्यवसायमा संलग्न गराउन सङ्घ सबै तत्पर रहेको बताए। उनले आवश्यक सचेतना कार्यक्रममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा ललितपुरका युवाहरूले लैङ्गिक हिंसा विरुद्धको अभियानको निरन्तरता लागि युवा साझेदारी अभियानको घोषणा गरेका छन्।
महानगरीय प्रहरी प्रभाग मंगलबजारको सहकार्यमा राष्ट्रिय युवा महासङ्घ ललितपुरले गरेको कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला प्रशासकीय अधिकृत घनश्याम उपाध्यायले नेपाली समाजमा व्याप्त महिला विभेदको पुरातन चिन्तन यस्ता अभियानको निरन्तरताले मात्र तोड्न सकिने बताए।
प्रहरी प्रभाव मंगलबजारका प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले महिलामाथि हुने सामाजिक, मानसिक र शारीरिक अपराधका मुद्दा न्यूनीकरण तथा सचेतनाका लागि युवासँग साझेदारी गरेको बताए। उनले युवाको साथमा बढ्दो साइबर क्राईम र दुर्व्यसन विरुद्ध कार्य गर्न तत्पर रहेको बताए।
युवा महासङ्घका सल्लाहकार मोतिशान्ती शाक्यले लैङ्गिक हिंसामा महिला बढी पर्ने भए पनि अल्पसङ्ख्यक समलैंगिक लगायत पुरुष पनि पीडित हुने गरेको बताए। उनले सबैको सहभागितामा समुदाय भित्र सचेतना कार्यक्रमको आवश्यकता रहेको बताए।
युवा साझेदारी कार्यक्रममा ललितपुर उद्यमी महिला समूह, मणिमण्डप मिसा पुचः लगायतका वडा १६, ११ र १९ वडा भित्रका महिला समूहहरू, प्यंगू दः समाज, ताम्रकार समाजका युवा समूहसँगै ठेचोको नवदुर्गा महिला समूहसमेतको सहकार्य र प्रतिबद्धता रहेको सल्लाहकार शाक्यले जानकारी दिए।
समाजमा व्याप्त महिला हिंसा अशिक्षित र गरिब वर्गमा चेतनाको कमीले मात्र नभै शिक्षित र धनी वर्गमा पनि रहेकाले लुकेर रहेका यस्ता सामाजिक समस्यालाई कानुनी उपचारसँगै महिला सबलीकरणले सम्बोधन गर्नुपर्नेमा ललितपुर महानगरपालिकाका महिला विकास महाशाखाका अधिकृत महेश्वरी बिष्ट्ले जोड दिइन।
त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक हिंसा निवारण शाखाका महिला विकास अधिकृत सावित्रा शाहले ललितपुर जिल्लामै देखिएका महिला हिंसाका उदाहरणहरू प्रस्तुत गर्दै युवा साझेदारी कार्यक्रमको प्रगति मन्त्रालयसम्म ल्याउन आग्रह गरिन।
महासङ्घका अध्यक्ष राजन महर्जनले महिला हिंसा विरुद्ध अभियान निरन्तर रहनुपर्छ भन्ने बोध गरेर सबै टोल समुदायको साथ रहने विश्वासका साथ प्रहरी प्रभाग मंगलबजारसँगको सहकार्यमा अभियान साझेदारी घोषणा गरेको जानकारी दिए।
विभिन्न महिला संघस्ंस्थाहरुको प्रतिनिधित्व गर्दै मणिमण्डप मिसा: पुचःका अध्यक्ष एवं ललितपुर महिला उद्यमी समूहका उपाध्यक्ष हसिना शाक्यले यस अभियानमा सहकार्यको प्रतिबद्धता जनाइन।
मंसिर २९, २०७८ बुधबार २१:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।