पाण्डेलाई कारबाही गर्न मिश्र समूहले लगायो चार आरोप

काठमाडौँ : विवेकशील साझा पार्टीको अध्यक्ष रवीन्द्र मिश्र समूहले पार्टीका संयोजक मिलन पाण्डेलाई कारबाहीको चेतावनी सहित चार बुँदे स्पष्टीकरण सोधेको छ। मङ्सिर २८ को पार्टीको बैठक अनुसार उनलाई बुधवार स्पष्टीकरण पत्र बुझाइएको हो।
धर्म निरपेक्षता र सङ्घीयताबारे जनमत सङ्ग्रह गर्ने मिश्रको लाइन पारित भएपछि पार्टीमा पाण्डेसहितका पुरानो साझा पार्टीका नेताहरू मिश्रको विपक्षमा उभिएका छन्।
पत्रमा उनलाई पार्टीको संयोजक जस्तो गहन भूमिका दिए पनि पाण्डेले पार्टीप्रति जिम्मेवारीबोध नगरी केन्द्रीय समितिको बैठकमा लगातार अनुपस्थित भएको, दुई तिहाइभन्दा बढी केन्द्रीय सदस्यहरूले गरेको निर्णय अस्वीकार गरेको र पार्टी नेतृत्व विरुद्ध भ्रमपूर्ण प्रचारबाजी गरेको आरोप लगाइएको छ।
पार्टीको लेटर हेड दुरुपयोग गरेर प्रवक्ता नियुक्ति लगायतका निर्णय सार्वजनिक किन गरिएको भनेर उनलाई सोधिएको छ।
यसै गरी पार्टीको नाम, लेटर हेड दुरुपयोग गरी अनधिकृत रूपमा विज्ञप्ति प्रकाशन गर्न लगाउने र पार्टीको वैधानिक निर्णय विरुद्ध निर्वाचन आयोगमा पटक, पटक तथ्यहीन आरोपहरूसहित निवेदन दिई सञ्चार माध्यममा भ्रम छर्ने काम गरेको दोस्रो बुँदामा उल्लेख छ।
तेस्रो बुँदामा केन्द्रीय समितिले गरेको बहुमतको निर्णयमा आशङ्का भए राजनीतिक दल सम्बन्धी कानुन अनुसार विवाद निरूपण सम्बन्धी कार्यविधि को पालना नगरेको आरोप लगाइएको छ।
चौथो बुँदामा स्पष्ट रूपमा समानान्तर गतिविधि देखिने गरी र गुट निर्माण हुने गरी विभिन्न नाममा विभिन्न समूह खडा गरी तिनलाई सामाजिक सञ्जालमा प्रवर्धन गर्ने काम गरेको आरोप लगाइएको छ।
पत्रमा पार्टीलाई क्षति पुर्याउने बदनियत राखेर लगातार विधान र केन्द्रीय समितिको निर्णय विपरीतको कामहरू जारी राखेको भन्दै कारबाही गर्न नपर्ने भए कारण सहित पुस ४ भित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।
उनलाई पत्र इमेलबाट पठाएर फोन गरेर जानकारी गराएको पत्रमै उल्लेख छ। मिश्रको हस्ताक्षर रहेको पत्रमा यदि तोकिएको मितिभित्रमा स्पष्टीकरण नआए कारबाही गर्ने चेतावनी दिइएको छ।
मंसिर २९, २०७८ बुधबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।