कालो मोसो दल्न गएका विप्लवका कार्यकर्ता प्रतिकार गर्दा भागे 

कालो मोसो दल्न गएका विप्लवका कार्यकर्ता प्रतिकार गर्दा भागे 
तस्बिर पत्रकार विश्वनाथ सिम्खडा

सुर्खेत : नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कालिकोटका प्रमुखमाथि दुर्व्यवहार गरेका छन्।

विप्लव समूहको अनेरास्ववियू क्रान्तिकारी र युवा सङ्घका कार्यकर्ताले इकाई प्रमुख महेशदत्त देवकोटामाथि दुर्व्यवहार गरेका हुन्।

विप्लवका कार्यकर्ताले शिक्षक सरुवामा एकलौटी गरेको, बढुवामा घुस मागेको आरोप लगाउँदै प्रमुख देवकोटाको कार्यकक्षमै पुगेर कालो मोसो दल्ने प्रयास गरेका थिए।

तर प्रमुख देवकोटाले कार्यकक्षमै चार पाँच जनाको समूहमा आएका युवाहरूको कालो मोसो दल्ने प्रयास असफल पारेको बताए।

‘म कार्य कक्षमै थिए एक्कासि केही युवाहरू प्रवेश गरे,’ देवकोटाले भने, ‘उनीहरूले गर्न खोजेको हर्कत थाहा पाएपछि प्रतिकार गर्दा उनीहरू भागे। कालो मोसो नै लगाउन पाएनन्।’ 

देवकोटाले यस्तो कार्यले काम गर्नमा हतोत्साहित बनाएको र तीन वर्षको अवधिमा कुनै गलत काम नगरेको बताए ।

‘तीन वर्षदेखि कार्यालयमा एक्लै काम गरिरहेको छु,’ देवकोटाले भने, ‘गलत गरेपछि उजुरी गर्नुको साटो कार्यकक्षमै पुगेर यस्ता गलत कार्य गर्नु राम्रो होइन। यस्तो गतिविधिले काम गर्ने वातावरण नै नबन्दा त्रसित बनाएको छ।’ 

आफूमाथि दुर्व्यवहार गर्ने युवाहरूको खोजी गर्न प्रहरी कार्यालयमा जानकारी गराएको उनले बताए।

मंसिर २९, २०७८ बुधबार २०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।