अध्यादेश पेस भएसँगै २ नम्बर प्रदेश सभाकाे बैठक स्थगित

जनकपुर : प्रदेश नम्बर २ को प्रदेशसभा बैठक दुई वटा अध्यादेश पेस भएसँगै स्थगित भएको छ। सभामुख सरोज यादवले आगामी पुस ८ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।
प्रदेश सभा बैठकमा प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेस भएको छ।
सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले अध्यादेश पेस गर्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो। पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभा बैठक छलेर अध्यादेश ल्याइएको भन्दै बैठक अवरुद्ध गरेको बताए।
सभामुख यादवले सरकारले अध्यादेश ल्याउन पाउने नियम रहेको र कुन स्थितिमा ल्याएको भन्ने कुरा सरकारले जवाफ दिनुपर्ने भन्दै अवरोध नगर्न आग्रह गरेका थिए।
लोसपाका सदस्यले अवरोध जारी राखेपछि प्रदेशसभा १५ मिनेटका लागि स्थगित गरी पुनः सुरु भएको बैठकमा अध्यादेश पेस भएको हो।
प्रदेश नम्बर २ को प्रदेशसभा बैठकमा लोसपाका सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन्। ‘बेटी बचाउ बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले माग गरे।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’, सोनलले प्रश्न गरे,‘अख्तियार प्रमुखले त साइकल खरिदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ, यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू।’
मंसिर २९, २०७८ बुधबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।