महानगरको भवनको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले दायर गर्‍यो आरोप पत्र

महानगरको भवनको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले दायर गर्‍यो आरोप पत्र

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको ठेक्का दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकाका पाँच जनाविरुद्ध आरोप-पत्र दायर गरेको छ।

मूल्याङ्कन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्नेहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागवादी गर्दै अख्तियारले बुधवार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

काठमाडौँ महानगरपालिका वडा नम्बर १२ टेकुमा भवन निर्माण गर्न महानगरपालिकाले गरेको विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्याङ्कन प्रतिवेदनमा गलत लिखत तयार गरेको आरोप पत्रमा दाबी गरिएको छ।

आरोप पत्रमा सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्याङ्कन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा टेकु स्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्याङ्कन प्रक्रियामा काठमाडौँ महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप-निर्देशक बखत बहादुर साउद, उप-निर्देशक सुमन अधिकारी, उप-निर्देशक वीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको बताएको छ।

अभियोग पत्रमा उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएको भन्दै मूल्याङ्कन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्ने प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागवादी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम बुधवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ।

२०७७ चैत ३१ मा आह्वान गरिएको बोलपत्रमा ‘समानान्तर निर्माण सेवा’ मात्रै प्राविधिक रूपमा पास भएको थियो। अन्य पाँच कम्पनी अयोग्य भएको थियो।

टेन्डरको बिड डकुमेन्टमा २१ मिटर अग्लो भवन बनाएको योग्यता र विशेष लाइटिङ सिस्टम जडानको अनुभव मागिएको थियो। सबै योग्यता पुगेर पनि यी प्रावधानका कारण केही व्यवसायीले प्रतिस्पर्धा गर्न नपाएको र ‘सेटिङ’मा सर्त राखिएको व्यवसायीहरूले दाबी गर्दै आएका थिए। अरूले सर्त पूरा गर्न नसकेको भन्दै महानगरपालिकाले समानान्तर निर्माण सेवालाई प्राविधिक रूपमा पास गरेको थियो।

मंसिर २९, २०७८ बुधबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।