१३ सय ग्राम सुनसहित विमानस्थलबाट ५ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौंः नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। लुकाई छिपाई लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुन जस्तो धातुको विस्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरासहित उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा ३० वर्षीय तौहिदुल तनविर, ३० वर्षीय एमडि युनुस अली, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल ईस्लाम र ३७ वर्षीय एमडि मिराजुल ईस्लाम रहेका छन्।
तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन जस्तो धातु बरामद भएको हो।
हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बङ्गलादेश जान लागेका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु फेला परेको हो।
आवश्यक अनुसन्धान एवं कारबाहीको लागि उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
मंसिर २९, २०७८ बुधबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।