सदनको अन्त्य ओली सामु समर्पण : पौडेल

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीचमै सदनको अन्त्य गर्नु एमाले अध्यक्ष केपी शर्मा ओलीसामु समर्पण गर्नु बराबर भएको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।
'संसद् चलाउँछु र संसद्बाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद् सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्याे भने ओलीकाे नियतिका सामु समर्पण गरेकाे ठहर्नेछ', विज्ञप्तिमा भनिएको छ।
यस्तै उनको विज्ञप्तिमा ६ महिनाकाे अन्तरालमा दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले अध्यक्ष ओलीले महिनाै दिनदेखि संसद् अवराेध गरेर विघटन सही थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गरेको पनि बताइएको छ।
हिजोबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो दिन नै एमालले संसद् अवरुद्ध पार्न खोजेको थियो। एमालेको नाराबाजीकै बीच हिजो संसद्मा ६ वटा विधेयक पेश भएको छ।
मंसिर २९, २०७८ बुधबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।