विधान अनुसार काम गर्न शेरबहादुर नै अब्बल : खाँण

काठमाडौँ : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीका सबै पक्षलाई समेटेर लैजाने बताएका छन्। देउवाका विश्वासपात्र खाँणले पार्टीको निर्वाचन आन्तरिक प्रतिस्पर्धा भएकाले निर्वाचनमा पराजित भएका नेताहरूलाई समेत सँगै समेटेर लैजाने बताए।
यस अगाडि पदाधिकारीमा पराजित हुने उम्मेदवारलाई जितेका सभापतिले केन्द्रीय समितिमा मनोनीत गर्दै आएका छन्। यस पटक पनि त्यो परम्परालाई कायम राख्ने उनले बताए।
१३ औँ महाधिवेशनपछि सभापतिका रूपमा देउवाले विधान अनुसार काम नगरेको भनेर आलोचना भएकोबारे राखिएको जिज्ञासामा उनले पार्टीको विधान अनुसार काम गर्ने नेताहरूमा देउवा अब्बल नेता भएको दाबी गरे।
केन्द्रीय समितिमा बहुमत हुँदाहुँदै पनि देउवाले बहुमतबाट पेलेर निर्णय नगरी सबै पक्षसँग सहमति लिएर निर्णय गर्ने गरेको उनले दाबी गरे। उनले निर्वाचनको परिणामकै आधारमा मन्त्रिपरिषद् फेरबदल नहुने बताएका थिए।
सहयोग लिनेक्रममा नेताहरूलाई सरकारमा लैजानेबारे सहमति भएको भन्ने चर्चाका विषयमा राखिएको जिज्ञासामा उनले सरकार कांग्रेसको मात्रै एक्लै नभई संयुक्त सरकार भएकाले मन्त्रिपरिषद्बारे अन्य दलसँग समेत छलफल हुनुपर्ने भन्दै यसबारे प्रधानमन्त्रीले नै केही निर्णय गर्न सक्ने बताए।
मंसिर २९, २०७८ बुधबार ०३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।