नेता मिले पनि एक सय २६ जनाले दिएनन् देउवालाई भोट

नेता मिले पनि एक सय २६ जनाले दिएनन् देउवालाई भोट

काठमाडौँ : सभापतिको दोस्रो चरणको निर्वाचनमा एक सय २६ मत बढाए शेखर कोइरालाले। पहिलो चरणको निर्वाचनमा उनले एक हजार ७ सय २९ मत पाएका थिए। दोस्रो चरणको निर्वाचनमा उनले एक हजार ८ सय ५५ मत पाएका छन्।

पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ८१ मत खसेको थियो। देउवाले २ हजार २ सय ५८ मत पाएका थिए। पहिलो चरणमा सभापतिको निर्वाचनमा सहभागी प्रकाशमान सिंहले ३ सय ४७, विमलेन्द्र निधिले २ सय ७३ र कल्याण गुरुङले ३२ मत पाएका थिए।

दोस्रो चरणको पहिलो र दोस्रो हुने उम्मेदवारबिच मात्रै प्रतिस्पर्धा हुने भएपछि दोस्रो चरणका लागि अयोग्य भएका सभापतिका तीनै उम्मेदवारहरूले देउवालाई समर्थन गरे। उनीहरूले समर्थनमा विज्ञप्ति निकाले। अनि लाइनमा देउवासँगै उभिएर मत मागे।

दोस्रो चरणमा जम्मा ४ हजार ६ सय २३ मत खस्यो। पहिलो चरणमा भन्दा ५८ मत कम। समर्थक र पहिलो चरणमा देउवाले पाएको मत जोड्दा २ हजार ९ सय १० हुन्छ। तर उनले पाए २ हजार ७ सय ३३ मात्र। बरु शेखरले दोस्रो चरणमा एक्लै भए पनि एक सय २६ मत बढाएर १८ सय ५५ ल्याए। तर मत बढे पनि उनको पक्षमा बहुमत आएन र पराजित भए।

पराजित भए पनि उनी पार्टीको केन्द्रीय सदस्यको १४ औँ वरियताबाट अब वरिष्ठ नेताको दोस्रो वरियतामा आएका छन्।

मंसिर २९, २०७८ बुधबार ०३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।