सत्ता र शक्तिमा देउवाको २९ को संयोग

काठमाडौँ : २०७४ को निर्वाचनमा पार्टी लज्जास्पद रूपमा पराजित भएर प्रमुख प्रतिपक्षको सिटमा पुगेपछि २०७९ को निर्वाचनमा कम ब्याक नगरी सत्तामा पुग्न सम्भव थिएन शेरबहादुर देउवालाई। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा तितरबितर भएर एमाले र माओवादी केन्द्र नै ब्युँतिएसँगै उनका लागि सत्ताको ढोका उघारियो।
केपी ओलीले पटक पटक संसद् विघटनको प्रयास गर्दा एमालेमा विवाद बढेसँगै माधव नेपाल समूहले विद्रोह गर्दा कमजोर सङ्ख्यामा रहे पनि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पायो र पाँचौँ पटक प्रधानमन्त्री बने शेरबहादुर देउवा।
उनी सहजै प्रधानमन्त्री बनेका भने हैन। लामो समय सर्वोच्च अदालतमा चलेको कानुनी रस्साकस्सीसँगै अदालतले प्रतिनिधि सभा ब्युँताएर प्रधानमन्त्रीमा देउवाको नियुक्तिको मिति समेत तोकिदियो असार २९। अदालतले मिति नै तोकेकाले राष्ट्रपति विद्या भण्डारी देउवालाई प्रधानमन्त्रीको शपथ खुवाउन बाध्य भइन्।
प्रधानमन्त्री भएको पाँच महिनामा देउवा पुन दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित भए। संयोग पहिलो चरणमा भएको निर्वाचनमा ५० प्रतिशत बढी मत नपाएपछि दोस्रो चरणमा भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित भए। मत परिणाम सार्वजनिक भयो मङ्सिर २९।
उनले पार्टीको १४ औँ महाधिवेशनमा शेखर कोइरालालाई पराजित गरेर पार्टी सभापतिको दोस्रो कार्यकाल सुरक्षित गरेका छन्।
मंसिर २९, २०७८ बुधबार ०२:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।