कांग्रेस नेता गगनको प्रश्न : रातारात निर्णय बदल्ने कुरा कहाँबाट आयो?

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णयको जवाफ दिनु पर्ने बताएका छन्।
नेता थापाले नेतृत्व परिवर्तनको विरुद्धमा लाग्नेहरूले सभापति पदका लागि दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गर्ने निर्णय गर्नुपर्ने जवाफ दिनु पर्ने बताएका हुन्।
आफू जित्ने कुरा भन्दा पनि हराउने कुरा महत्त्वपूर्ण हो भन्नेहरूले देउवालाई समर्थन गर्ने निर्णय गर्नुपर्ने जवाफ देश र जनतालाई दिनुपर्ने थापाले बताए। ‘वर्तमान नेतृत्वको निरन्तरले पार्टीलाई क्षति हुन्छ भन्ने उहाँहरूले निर्णय बदल्न पाउनुहुन्छ,’थापाले भने,‘रातारात निर्णय बदल्ने कुरा कहाँबाट आयो?,देश जनतालाई भन्नुपर्छ।’
उनले देउवालाई समर्थन गर्ने निर्णयको प्रश्नले लखेट्ने बताए। ‘देउवाको नेतृत्वमा पार्टीले आम चुनाव हार्यो। पार्टीको विश्वसनीयता घट्यो,’उनले भने,‘हिजो यस्तो भन्ने साथीहरूले त्यही नेतृत्वलाई समर्थन गर्नु भएको छ, यो प्रश्नले साथीहरूलाई लखेट्छ।’
उनले कांग्रेस सभापतिको चुनाव स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लडेजस्तो भएको बताए। उनले देउवामा तीन जना सभापतिका उम्मेदवारले समर्थन गर्दा पनि चुनाव जित्छु भन्ने आत्मविश्वास भने नदेखिएको बताए।
‘जग बलियो छैन, प्रधानमन्त्री जस्तो मान्छे पाँच पाँच घण्टा लाइनमा भोट मागेर बस्नु भयो,’थापाले भने,‘उहाँको मनमा डर छ, यो सत्य हो।’
मंसिर २८, २०७८ मंगलबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।