एमालेको विरोधकाबीच ६ अध्यादेश पेस
काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेस भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोधकाबीच संसद् बैठकमा ६ वटा अध्यादेश पेस भएको हो।
बैठकमा तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय, पहिलो संशोधन अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस भएको छ।
यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र रेल्वे अध्यादेश २०७८ संसद् बैठकमा पेस भएको छ।
एमालेका सांसदले पार्टीले कारबाही गरेका १४ सांसदलाई निलम्बन गर्नुपर्ने माग गर्दै मंगलबारको बैठकमा विरोध गरेका थिए। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्ष एमालेसँग वार्ता र संवादका लागि सरकार तत्पर रहेको बताए।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री बडूले कांग्रेसको महाधिवेशन सकिएपछि आपसमा बसेर सहमतिको वातावरण निर्माण गरिने बताए।
उनले संसद्को बैठकमा अध्यादेश पेसबाहेक अन्य कार्यसूची अघि नबढाइएको बताए।
मंसिर २८, २०७८ मंगलबार २१:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।