कांग्रेस सभापतिको चुनाव : राति १० बजेसम्म मतदान, ११ बजेबाट गणना 

कांग्रेस सभापतिको चुनाव : राति १० बजेसम्म मतदान, ११ बजेबाट गणना 
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : नेपाली कांग्रेसको सभापति चुन्न भएको दोस्रो चरणको निर्वाचनमा ४ हजार भन्दा धेरै मतदान भएको छ। राति १० बजे अगावै मतदान सकिने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए। 

चार हजार भन्दा धेरै मत खसिसकेको र १० बजे अगाडि नै मतदान सम्पन्न हुने रिजालले बताए। मतपेटिका सङ्कलन गरेर राति ११ बजेदेखि मतगणना सुरु हुने उनले बताए। सभापति पदमा भएको दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ। 

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको चुनावमा सभापति पदका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो। सभापतिको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ। 

सभापतिको मतगणना सकिएपछि बुधबार एक दिन आराम गर्ने र बिहीबारबाट पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी गरेको समितिले जनाएको छ। पदाधिकारीसहित सदस्यको मतगणना कांग्रेस पार्टी कार्यालय ललितपुर सानेपामा हुनेछ। 

१३ औँ महाधिवेशनमा भन्दा १४ औँ महाधिवेशनमा पदाधिकारी र सदस्यको छुट्टा छुट्टै मत पत्र र मतपेटिका पनि छुट्टै भएकाले गणनाको नतिजा आउन ढिलो नहुने रिजालले बताए। 

मंसिर २८, २०७८ मंगलबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।