सुदूरपश्चिम माओवादी सम्मेलन : आकांक्षी बढी हुँदा जुटेन सहमति 

सुदूरपश्चिम माओवादी सम्मेलन : आकांक्षी बढी हुँदा जुटेन सहमति 

सोमबार दिउँसोबाट सुरु भएको वन्दना त्यहीँ साँझ प्रदेश सदस्यहरू टुङ्गो लगाउने भनिए पनि जिल्लागत कोटाको विषयमा विवाद हुँदा मङ्गलबार बिहान पुन: छलफल गर्ने भन्दै बन्द सत्र स्थगित भएको थियो। 

सुदूरपश्चिममा माओवादीका ८० हजार ४२७ हजार सदस्य रहेका छन्। कैलालीमा सबैभन्दा बढी २८ हजार ५४७ जना सदस्य छन्।

सुदूरपश्चिम प्रदेश सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गरिने माओवादी केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए। 

‘९ पदाधिकारीमा सबैभन्दा बढी अध्यक्षमै दावी गर्नेहरू छन्। आधा दर्जन बढी नेताहरू प्रदेश अध्यक्षको लबिङमा छन्।हामी आज साँझसम्म सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयासमा छौँ। सफल नभए निर्वाचन प्रणाली मार्फत नै जान्छौँ, ‘सुदूरपश्चिम इन्चार्ज भट्टले भने, ‘मंगलबार साँझसम्म प्रदेश सदस्य टुङ्गो लगाएर पदाधिकारी पनि घोषणा गर्ने तयारी छ। त्यसमा उम्मेदवारहरू सहमत नभए निर्वाचनको सम्भावना छ।’

अध्यक्ष पदका लागी रस्सा-कस्सी
कैलालीबाट प्रदेश अध्यक्षमा ४ जनाको दावी छ। नेपबहादुर चौधरी, प्रदेश सभा सदस्य वीरमान चौधरी, राष्ट्रिय सभा सदस्य हरि चौधरी (उत्सव) र हरि ज्ञवाली (अखण्ड) अध्यक्षका लागि कसरतमा छन्। 

यस्तै सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वन तथा वातावरण मन्त्री रहेका दार्चुलाका मानबहादुर धामी, हाल प्रदेश सचिव रहेका कञ्चनपुरका देवीलाल चौधरी र हाल प्रदेश अध्यक्ष नै रहेका अछामका शरदसिंह भण्डारीले पनि अध्यक्ष पदमै दावी गरिरहेका छन्।

कैलालीमा पार्टी सदस्य र धेरै निर्वाचन क्षेत्र पनि धेरै रहेकाले अध्यक्ष कैलालीले नै पाउन सक्ने आकलन भइरहेको छ। यदि त्यसो भएमा राष्ट्रिय सभा सदस्य हरि चौधरी (उत्सव) बलिया उम्मेदवार हुन।

'दर्जन बढी नेता अध्यक्षको लबिङमा हुनुहुन्छ। केन्द्रीय सदस्यहरू अध्यक्ष नहुन पाउने कुरा छलफलमा उठेको छ। निष्कर्षमा पुग्न सकेका छैनौँ। छिट्टै सकारात्मक सन्देश आउँछ,’ एक नेताले भने।

मंसिर २८, २०७८ मंगलबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।