लुम्बिनीमा टुंगो लागेन माओवादीका पदाधिकारी, प्रदेश समितिलाई जिम्मा

लुम्बिनीमा टुंगो लागेन माओवादीका पदाधिकारी, प्रदेश समितिलाई जिम्मा

प्रदेश समितिको बैठकले भने पदाधिकारी टुंगो लगाउने बताएको छ। अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, उपसचिव ३ र कोषाध्यक्ष एक गरी ९ सदस्यीय पदाधिकारी बन्नेछ।

नेकपा माओवादी केन्द्र लुम्बिनीको नयाँ नेतृत्वका लागि ४ जना आकांक्षी छन्। लुम्बिनी प्रदेश सांसद दिपेन्द्र पुन, प्रदेश कार्यालय सचिव एवं लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बराल, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा र प्रदेश सांसद आईपी खरेल अध्यक्षका दावेदार हुन्।

अध्यक्षमा सहमति हुन नसकेपछि सदस्य निर्वाचित गराएर समितिलाई पदाधिकारी चयन गर्ने निर्णय भएको माओवादीका एक नेताले बताए। प्रदेश नेतृत्वमा आफूइतरका नेतालाई लैजान माओवादीका शीर्ष नेताहरूले लबिङ गर्दा अध्यक्ष सहितका पदाधिकारीको टुंगो नलागेको हो।  

माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा र जनार्दन शर्माले आफ्ना पक्षका नेताहरूलाई नेतृत्वका लागि अघि बढाउन चाहेका छन्।

वर्षमान पुन र ओनसरी घर्तीले लुम्बिनी प्रदेश सभा सदस्य रहेका दिपेन्द्र पुनलाई अध्यक्षमा अघि सारेका छन् भने माओवादीका अर्का नेता कृष्णबहादुर महराको रोजाइमा लुम्बिनी पार्टी कार्यालयका सचिव सुदर्शन बराल रहेका छन्। 

त्यस्तै जनार्दन शर्माका विश्वासिला पात्रका रूपमा रहेका जगप्रसाद शर्मा पनि अध्यक्षका दावेदार हुन्।

लुम्बिनी प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र बाँकेका सञ्योजक रहेका आईपी खरेल पनि अध्यक्षका दावेदार हुन्। लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको र सबैभन्दा धेरै दाङमा १९ हजार ७०० रहेका छन्।

मंसिर २८, २०७८ मंगलबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।