नेटवर्किङ धन्दामा संलग्न दुई भारतीय र एक नेपाली पक्राउ

चितवनः जिल्लामा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने गिरोह सक्रिय भएको भेटिएको छ। उनीहरूले स्थानीयलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताए।
२८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई चितवनस्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो। होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताए।
उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।
मंसिर २८, २०७८ मंगलबार ०८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।